You are here
Home > खुसी बाँडे खुसी बढ्छ > ओसाकामा भोलि हुने महानायक राजेश हमालको प्रेरणादायी कार्यक्रममा तयारी पूरा

ओसाकामा भोलि हुने महानायक राजेश हमालको प्रेरणादायी कार्यक्रममा तयारी पूरा

टोकियो / ओसाका । जापानमा बसोबास गर्ने नेपाली समुदायमा प्रेरणा, आत्मविश्वास र सकारात्मक सोच प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको विशेष प्रेरणादायी कार्यक्रम “सपना, साधना र सफलता — युगदेखि युगसम्म” अन्तर्गत भोलि ओसाकामा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

गैरआवासीय नेपाली संघ (गैरआवासीय नेपाली संघ (NRNA)) एनसिसी–जापानको आयोजना तथा क्षेत्रीय समितिहरूको सह–आयोजनामा सञ्चालन भइरहेको उक्त कार्यक्रममा नेपाली चलचित्र जगतका महानायक राजेश हमाल को विशेष उपस्थिती रहनेछ।

आयोजकका अनुसार कार्यक्रम कान्साइ क्षेत्रका नेपाली समुदायलाई लक्षित गर्दै भोलि फेब्रुअरी १७, २०२६ (मंगलबार) का दिन ओसाकास्थित ओसाका आबेनो सिभिक सेन्टर मा साँझ ५:३० बजेदेखि राति ९:०० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रमस्थलको व्यवस्थापन, प्राविधिक तयारी, स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था तथा अतिथि स्वागतको तयारी पूर्ण रूपमा सम्पन्न भइसकेको आयोजकले जानकारी दिएको छ।

कार्यक्रममार्फत प्रवासमा रहेका नेपालीहरूलाई सकारात्मक सोच, लक्ष्यप्रतिको प्रतिबद्धता तथा निरन्तर साधनाको महत्वबारे प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, महानायक हमालसँग प्रत्यक्ष अन्तरक्रिया, अनुभव आदान–प्रदान र प्रेरणादायी मन्तव्य सुन्न पाउने अवसर रहने आयोजकको भनाइ छ।

यसअघि टोकियो, शिजुओका र नागोयामा सफलतापूर्वक सम्पन्न भएका कार्यक्रमहरूमा उल्लेखनीय सहभागिता देखिएको थियो। ओसाकाको कार्यक्रमपछि अन्तिम चरण हाकाता सिभिक सेन्टर, फुकुओकामा आयोजना हुनेछ।

आयोजकले कार्यक्रममा सहभागी हुन कान्साइ क्षेत्रका सम्पूर्ण नेपाली समुदायलाई आग्रह गर्दै, समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न अनुरोध गरेको छ।

Leave a Reply

Top