ओसाकामा शुभ दीपावली तथा देउसी–भैलो कार्यक्रम २०२६ आयोजना हुँदै खुसी बाँडे खुसी बढ्छ समाचार October 27, 2026 ओसाका, जापान, अक्टोबर २७। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार तथा शुभ दीपावलीको अवसरमा कर्णाली प्रदेश समाज जापान, कान्साई क्षेत्रीय समिति ओसाकाको आयोजनामा आगामी नोभेम्बर ८ तारिख आइतबार शुभ दीपावली तथा देउसी–भैलो कार्यक्रम २०२६ आयोजना हुने भएको छ। जापानमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। आयोजकका अनुसार कार्यक्रम ओसाकाको नानिवा कुस्थित 浪速区民センター (नानिवा कुमिन सेन्टर) मा साँझ ५ बजेदेखि राति ९:३० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा नेपाली मौलिक संस्कृति र परम्परालाई झल्काउने देउसी–भैलोमार्फत प्रवासमा पनि तिहारको सांस्कृतिक महत्त्वलाई जीवन्त राख्ने अपेक्षा गरिएको छ। कार्यक्रमस्थलसम्म पुग्न साकुरागावा, नाम्बा तथा आशिहाराबासी स्टेसन प्रयोग गर्न सकिने आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी हुन कुनै प्रवेश शुल्क लाग्ने छैन। जापानमा नेपाली समुदायको उपस्थिति बढ्दै गएको सन्दर्भमा यस्ता सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तालाई नेपाली भाषा, कला, संस्कृति र परम्परासँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। आयोजक कर्णाली प्रदेश समाज जापान, कान्साई क्षेत्रीय समितिले शुभ दीपावलीको अवसरमा सम्पूर्ण नेपाली समुदायमा हार्दिक शुभकामना व्यक्त गरेको छ।