ओसाकामा नेपाली विद्यार्थीलाई अभिभावकत्वको अनुभूति गराउँदै गोरखा स्पाइस मार्ट, दुई सयभन्दा बढी नेपालीलाई दशैँको टीका खुसी बाँडे खुसी बढ्छ प्रवास October 22, 2026 ओसाका, जापान। जापानको ओसाकास्थित गोरखा स्पाइस मार्टमा नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा टीका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। विशेषगरी अध्ययनका सिलसिलामा जापान आएका नेपाली विद्यार्थीहरूलाई परदेशमा पनि पारिवारिक आत्मीयता र अभिभावकत्वको अनुभूति गराउने उद्देश्यले आयोजित कार्यक्रममा दुई सयभन्दा बढी नेपालीहरूको उत्साहजनक सहभागिता रहेको थियो। गोरखा इन्टरनेसनल ग्रुप तथा गोरखा स्पाइस मार्टका सञ्चालक कृष्ण भुसाल र सहसञ्चालक एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) कान्साईका सहसंयोजक शंकर भुसालको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो। अध्ययन तथा रोजगारीका सिलसिलामा जापान आएका नेपालीहरू, विशेषगरी परिवारबाट टाढा रहेका विद्यार्थी र नवआगन्तुकहरूले चाडपर्वका बेला एक्लोपन महसुस गर्न नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सञ्चालक कृष्ण भुसालले बताउनुभयो। उहाँका अनुसार परदेशमा रहेका नेपाली विद्यार्थीहरूका लागि दशैँ केवल धार्मिक तथा सांस्कृतिक पर्व मात्र नभई परिवार, आफन्त र जन्मभूमिको सम्झना गर्ने विशेष अवसर पनि हो। “परदेशमा दसैँ मनाउँदा घरपरिवार र गाउँघरको याद आउनु स्वाभाविक हो। यस्तो समयमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एउटै ठाउँमा भेला गराएर टीका लगाइदिँदा आफ्नै परिवारसँग बसेको अनुभूति होस्, कोही पनि एक्लो छैन भन्ने महसुस होस् र सुखदुःखमा साथ दिने अभिभावकजस्तो साथ मिलोस् भन्ने हाम्रो सानो प्रयास हो,” भुसालले भन्नुभयो। कार्यक्रमले विशेषगरी नेपालबाट भर्खरै जापान आएका तथा परिवारसँग दशैँ मनाउन नपाएका विद्यार्थीहरूलाई नेपाली संस्कार, परम्परा र पारिवारिक वातावरणसँग जोडिने अवसर प्रदान गरेको आयोजकको भनाइ छ। त्यसैगरी, गोरखा स्पाइस मार्टका सहसञ्चालक एवं एनआरएनए कान्साईका सहसंयोजक शंकर भुसालले विदेशमा रहेर पनि नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्नु सबै नेपालीको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले प्रवासी नेपालीबीच आपसी सद्भाव, एकता, भाइचारा र आत्मीयता अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई नेपाली संस्कृतिसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। गोरखा इन्टरनेसनल ग्रुप तथा गोरखा स्पाइस मार्टले ओसाकामा व्यावसायिक गतिविधिसँगै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवासी नेपालीका समस्या समाधानमा सहजीकरण गर्दै आएको जनाएको छ। साथै, नेपाली समुदायका सुखदुःखमा साथ दिने र आवश्यक पर्दा सहयोगी भूमिका निर्वाह गर्ने प्रयासलाई निरन्तरता दिँदै आएको छ। व्यवसायलाई केवल आर्थिक गतिविधिमा सीमित नराखी नेपाली समुदायसँग भावनात्मक सम्बन्ध स्थापित गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले विशेषगरी विद्यार्थी तथा नवआगन्तुक नेपालीहरूलाई परदेशमा पनि आफ्नोपनको अनुभूति गराएको आयोजकको भनाइ छ। दुई सयभन्दा बढी नेपालीको सहभागितामा सम्पन्न कार्यक्रमले जापानमा रहेका नेपाली विद्यार्थीहरू एक्ला छैनन्, उनीहरूको सुखदुःखमा साथ दिने नेपाली समुदाय पनि छ भन्ने सन्देश दिएको छ।