You are here
Home > खुसी बाँडे खुसी बढ्छ > जापानमा पहिलोपटक कुकुर तिहार तथा मेरीगोल्ड उत्सव हुँदै, सम्पूर्ण तयारी पूरा

जापानमा पहिलोपटक कुकुर तिहार तथा मेरीगोल्ड उत्सव हुँदै, सम्पूर्ण तयारी पूरा

ओसाका, जापान। नेपाली मौलिक संस्कृति र परम्परालाई जापानमा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी नोभेम्बर ८ तारिख आइतबार ओसाकामा आयोजना हुन लागेको ‘कुकुर तिहार तथा मेरीगोल्ड उत्सव २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ।

जापानी नागरिक सुन्दरी मिकाको आयोजना तथा गैरआवासीय नेपाली संघ (NRNA) जापान, क्षेत्रीय समिति कान्साईको सहकार्यमा जापानमा पहिलोपटक यो विशेष सांस्कृतिक उत्सव आयोजना हुन लागेको हो।

नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत मनाइने कुकुर तिहारको सांस्कृतिक तथा धार्मिक महत्त्वलाई जापानी समुदायमाझ परिचित गराउनुका साथै नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

नेपाली संस्कृतिमा कुकुरलाई मानव जीवनको विश्वासिलो साथीका रूपमा सम्मान गर्दै पूजा गर्ने परम्परा रहेको छ। यही मौलिक परम्परालाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउने प्रयासस्वरूप जापानमा कुकुर तिहार तथा मेरीगोल्ड उत्सव आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ।

कार्यक्रममा नेपाली कला, संस्कृति, संगीत तथा नृत्यका विविध प्रस्तुति, सिर्जनात्मक कार्यशाला, सयपत्री फूलसँग सम्बन्धित गतिविधि, नेपाली परिकारलगायत विभिन्न आकर्षक कार्यक्रमहरू समावेश गरिनेछन्।

आयोजकका अनुसार कार्यक्रमको तयारी पूरा भइसकेको छ भने कान्साई क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका साथै जापानी नागरिकहरूको समेत उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रम नोभेम्बर ८ तारिख आइतबार बिहान ११ बजेदेखि ओसाकाको तेन्नोजीस्थित 應典院 (Ōtenin), 大阪市天王寺区下寺町1-1-27 मा आयोजना हुनेछ।

विदेशी भूमिमा नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नु सबै नेपालीको साझा जिम्मेवारी भएको उल्लेख गर्दै आयोजक तथा सहकार्य गर्ने पक्षले कान्साईवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरेका छन्।

नेपाल र जापानबीचको सांस्कृतिक आदानप्रदान, आपसी सद्भाव तथा नेपाली समुदायको एकतालाई थप मजबुत बनाउने विश्वास गरिएको यस उत्सवलाई विशेष सांस्कृतिक अवसरका रूपमा हेरिएको छ।

नेपाली मौलिक पर्व कुकुर तिहारलाई जापानी समुदायसँगै मनाउँदै नेपाली संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने यस ऐतिहासिक उत्सवमा सहभागी हुन आयोजकले सबैमा अपिल गरेको छ।

Leave a Reply

Top