लालिगुराँसले दियो सयपत्रीको उपहार खुसी बाँडे खुसी बढ्छ प्रवास November 15, 2026 ओसाका, जापान — ओसाकाको आसाही कु मिन सेन्टरमा एस्से एकेडेमीले आयोजना गरेको कार्यक्रममा लालिगुराँस समूहले उपस्थित सम्पूर्ण दर्शकलाई सयपत्री फूलका थुँगा उपहारस्वरूप प्रदान गरेको छ। एस्से एकेडेमी र डान्स स्टुडियो एस्सेको प्रस्तुति समावेश रहेको उक्त कार्यक्रममा एकेडेमीअन्तर्गतको जापानी र नेपाली बालबालिकाको सांस्कृतिक आदानप्रदान समूह लालिगुराँसका तर्फबाट फूल वितरण गरिएको थियो। कार्यक्रममा लालिगुराँस समूहका बालबालिकाले जिज्ञान कुमार थापाको शब्दरचना रहेको ‘सन्चै छ’ गीतसमेत प्रस्तुत गरेका थिए। फूलको उपहार र बालबालिकाको सांगीतिक प्रस्तुतिमार्फत जापान र नेपालबीच मित्रता तथा सांस्कृतिक आदानप्रदानको सन्देश दिइएको थियो। वितरणका लागि सयपत्री फूल ओसाका प्रिफेक्चरको पुष्प तथा बागवानी महासंघले उपलब्ध गराएको थियो। सहयोगका लागि लालिगुराँस समूहले महासंघप्रति हार्दिक आभार व्यक्त गरेको छ। ‘सँगै समृद्ध बनौँ’ भन्ने सन्देशसहित समूहले सयपत्री फूल र संगीतमार्फत जापान र नेपालबीचको मित्रतालाई अझ गहिरो बनाउँदै लैजाने भावना व्यक्त गरेको छ।