You are here
Home > खुसी बाँडे खुसी बढ्छ > दोस्रो कान्साई नेपाल फेस्टिभल २०२७ को तयारी सुरु, डिसेम्बर ३ मा औपचारिक घोषणा सभा हुने

दोस्रो कान्साई नेपाल फेस्टिभल २०२७ को तयारी सुरु, डिसेम्बर ३ मा औपचारिक घोषणा सभा हुने

ओसाका, जापान। जापानको कान्साई क्षेत्रमा नेपाली कला, संस्कृति, भाषा, भेषभूषा तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित दोस्रो कान्साई नेपाल फेस्टिभल २०२७ आयोजना हुने भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, क्षेत्रीय समन्वय परिषद् कान्साईको आयोजनामा आगामी २०२७ अप्रिल १० र ११ तारिख दुई दिनसम्म फेस्टिभल आयोजना गर्ने मिति तय गरिएको छ।

फेस्टिभलको औपचारिक घोषणा, भावी कार्ययोजना तथा तयारीका विषयमा जानकारी गराउने उद्देश्यले आगामी २०२६ डिसेम्बर ३ तारिख, बिहीबार ओसाकामा विशेष घोषणा सभा आयोजना गरिने भएको छ।

आयोजकका अनुसार घोषणा सभा साँझ ५:३० बजेदेखि राति ९ बजेसम्म ओसाकाको आबेनो क्षेत्रमा अवस्थित आबेनो लर्निङ सेन्टर (阿倍野学習センター) को तेस्रो तलामा सञ्चालन हुनेछ।

जापानमा नेपाली समुदायको बढ्दो उपस्थिति र सक्रियतासँगै नेपाली कला, संस्कृति तथा राष्ट्रिय पहिचानलाई जापानी समुदायमाझ परिचित गराउने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको हो।

फेस्टिभलले नेपाली समुदायबीच आपसी एकता, सद्भाव, सहकार्य र भाइचाराको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एनआरएनए कान्साईले घोषणा सभामा कान्साई क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, जापानी मित्रहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी, समाजसेवी तथा शुभचिन्तकहरूलाई सहभागी हुन हार्दिक आह्वान गरेको छ।

आयोजकले सबैको साझा प्रयास, साथ, सहयोग र सक्रिय सहभागिताबाट दोस्रो कान्साई नेपाल फेस्टिभल २०२७ लाई भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सफल बनाउन सकिने विश्वास व्यक्त गरेको छ।

नेपाली संस्कृति र पहिचानलाई जापानको भूमिमा अझ उचाइमा पुर्‍याउने साझा अभियानका रूपमा फेस्टिभललाई सफल बनाउन सम्पूर्ण समुदायको सहभागिता महत्त्वपूर्ण हुने आयोजकको भनाइ छ।

Leave a Reply

Top