कान्साइ क्षेत्रमा विदेशीहरूको बसोबास सहज बनाउन NESTLINE कम्पनीको स्थापना प्रवास समाचार February 4, 2026February 4, 2026 ओसाका, जापान – जापानको कान्साइ क्षेत्रमा बसोबास गर्ने विदेशी नागरिकहरूको आवास तथा दैनिक जीवन व्यवस्थापनलाई सरल र व्यवस्थित बनाउने उद्देश्यले NESTLINE Ltd नामक नयाँ कम्पनीको औपचारिक सुरुआत गरिएको छ। जापानको ओसाका शि ,योदोगावा वडा चुखामोतो ४-४-१९, दोस्रो तला (2F)(〒532-0026 大阪府大阪市淀川区塚本4丁目4番19号-2F)मा अबस्थित नयाँ कम्पनी NESTLINE को जनावरी २७ मा एक समारोह बिच चन्द्रकला गिरीले उद्घाटन गर्नुभएको थियो। कम्पनीका अनुसार, जापानमा नयाँ आउने वा लामो समयदेखि बसोबास गरिरहेका विदेशीहरूले घर भाडामा लिँदा भाषा अवरोध, ग्यारेन्टरको समस्या, कागजी प्रक्रियामा जटिलता तथा स्थानीय नियम–कानुन नबुझ्ने जस्ता कठिनाइहरू भोग्दै आएका छन्। यिनै समस्याहरूलाई समाधान गर्ने लक्ष्यसहित NESTLINE Ltd को स्थापना गरिएको कम्पनीका प्रमुख श्याम गिरीले जानकारी दिनुभएको छ। यस कम्पनिले विशेषगरी कान्साइ क्षेत्र, विशेषतःओसाका आसपास केन्द्रित भएर सेवा प्रदान गर्ने जनाएको छ। कम्पनीले घर भाडा खोज्न सहयोग, रियल इस्टेट कन्ट्र्याक्ट प्रक्रियामा मार्गदर्शन, ग्यारेन्टर सम्बन्धी सहयोग, भाषा सहजीकरण तथा नयाँ बसोबासकर्ताका लागि सेटलमेन्ट सपोर्ट जस्ता सेवाहरू उपलब्ध गराउने कम्पनीका अर्का प्रमुख किसिदा रिकुले बताउनु भयो । कम्पनीले आफूलाई विदेशी बासिन्दा र जापानी आवास प्रणालीबीच पुलको रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।यस्तै NESTLINE Ltd व्यवसायिक सेवासँगै स्थानीय समुदायसँग सहकार्य गर्दै विदेशी नागरिकहरूलाई जापानी समाजमा घुलमिल हुन मद्दत गर्ने, बसोबासपछि पनि निरन्तर परामर्श र सहयोग उपलब्ध गराउने योजना अघि सारेको छ। विदेशीहरूको संख्या बढ्दो रहेको कान्साइ क्षेत्रमा NESTLINE Ltd को स्थापना आवाससम्बन्धी जटिलता घटाउने तथा सुरक्षित, व्यवस्थित बसोबास वातावरण निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ। ओसाकामा नेपालीहरूको लगानीमा सञ्चालन गरिएको सम्भवतः यो पहिलो रियल इस्टेट कम्पनी भएको कम्पनीका प्रमुख श्याम गिरीले बताउनु भयो।