You are here
Home > साहित्य > कविता > लक्ष्मीप्रसादलाई नगर हेर्ने निम्तो

लक्ष्मीप्रसादलाई नगर हेर्ने निम्तो

शिवहरि लुइटेल

 

अहिले लक्ष्मी गाउँ गाउँमा आएको छ

पालिका पालिकामा आएको छ

वडा वडामा आएको छ

सिंहदरबार गाउँ गाउँमा आएको छ

एक पटक लक्ष्मीप्रसाद देवकोटालाई

हाम्रो गाउँ डुलाउन मन लागेको छ

धरणिधर बसेको शेषनारायण गाउँ

देखाउन मन लागेको छ

उनको साहित्यसुधा

सुनाउन मन लागेको छ

अति सुन्दर मानव जीवन यो

अझ सुन्दर पार्ने कसोगरी हो ?

गाउँ नगर सहर बनेको छ

हाम्रो गाउँलाई नगर भनेको छ

बारीका पाटाहरुले मोटर चढेको छ

खेतबारीमा प्लटिङ्ग नामको खेती गरेको छ

वडा वडामा घरबाटोको सिफारिस बढेको छ

दलाल नामको खेतालाको ज्याला बढेको छ

खेतबारी बाँझै छ, कसले खन्दै छ ?

अव हाम्रो गाउँ पनि सहर बन्दै छ

कछाड ,फरिया, चोलाले बिदा लिएको छ

सुट, पाइन्ट, कुर्था, सुरुवालले सहर दिएको छ

खर र टायलका छानाले बिदा लिएको छ

भूकम्पले पिलरे घर तिर्दै छ

अव हाम्रो गाउँमा पनि सहर छिर्दै छ

मर्निङ्ग र इभिनिङ्गवाक बढ्दै छ

जिमशाला खुल्दै छ

कुटो, कोदालो भुल्दै छ

खाजामा मकै, भटमास, मुला बिर्सिदै छ

ताउरोटी छाडेर चाउचाउ र पाउरोटीमा भुल्दै छ

युवाहरु ड्रगले झुल्दै छन्

आफ्नो सृजनशील समय भुल्दै छन्

इन्टरनेटले टीकटक

फेसबुक, इन्स्ट्राग्राम दिएको छ

किशोरकिशोरी, बालबालिका

सबैलाई यसले एक्ल्याइदिएको छ

हाम्रो गाउँले पनि नगर नाम पाइसकेको छ

नगर सबै गाउँमा आइसकेको छ

त्यसैले त मलाई देवकोटालाई

धरणिधरको गाउँ  डुलाउन मन लागेको छ

समकालीन कवि सहर देखाउन मन लागेको छ

नगर देखाउन, अख्तियार बोलाऊँ भने

नगर रित्तिने डर छ

वडा रित्तिने डर छ

सिंहदरबार सँगसँगै नआउनुपर्ने गाउँमा आएको छ

त्यसैले मलाई डर लागेको छ

म अरुलाई त बोलाउन सक्दैसक्दिनँ

देवकोटा !

तिमी एकपटक दक्षिणकाली नगरतिर नजर लगाइदेऊ

धरणिधरको तिमीलाई निम्तो छ ।

दक्षिणकाली नगरपालिका, वडा नं. २ काठमाडौं

 

 

 

 

 

Leave a Reply

Top