लक्ष्मीप्रसादलाई नगर हेर्ने निम्तो कविता साहित्य November 5, 2021 –शिवहरि लुइटेल अहिले लक्ष्मी गाउँ गाउँमा आएको छ पालिका पालिकामा आएको छ वडा वडामा आएको छ सिंहदरबार गाउँ गाउँमा आएको छ एक पटक लक्ष्मीप्रसाद देवकोटालाई हाम्रो गाउँ डुलाउन मन लागेको छ धरणिधर बसेको शेषनारायण गाउँ देखाउन मन लागेको छ उनको साहित्यसुधा सुनाउन मन लागेको छ अति सुन्दर मानव जीवन यो अझ सुन्दर पार्ने कसोगरी हो ? गाउँ नगर सहर बनेको छ हाम्रो गाउँलाई नगर भनेको छ बारीका पाटाहरुले मोटर चढेको छ खेतबारीमा प्लटिङ्ग नामको खेती गरेको छ वडा वडामा घरबाटोको सिफारिस बढेको छ दलाल नामको खेतालाको ज्याला बढेको छ खेतबारी बाँझै छ, कसले खन्दै छ ? अव हाम्रो गाउँ पनि सहर बन्दै छ कछाड ,फरिया, चोलाले बिदा लिएको छ सुट, पाइन्ट, कुर्था, सुरुवालले सहर दिएको छ खर र टायलका छानाले बिदा लिएको छ भूकम्पले पिलरे घर तिर्दै छ अव हाम्रो गाउँमा पनि सहर छिर्दै छ मर्निङ्ग र इभिनिङ्गवाक बढ्दै छ जिमशाला खुल्दै छ कुटो, कोदालो भुल्दै छ खाजामा मकै, भटमास, मुला बिर्सिदै छ ताउरोटी छाडेर चाउचाउ र पाउरोटीमा भुल्दै छ युवाहरु ड्रगले झुल्दै छन् आफ्नो सृजनशील समय भुल्दै छन् इन्टरनेटले टीकटक फेसबुक, इन्स्ट्राग्राम दिएको छ किशोरकिशोरी, बालबालिका सबैलाई यसले एक्ल्याइदिएको छ हाम्रो गाउँले पनि नगर नाम पाइसकेको छ नगर सबै गाउँमा आइसकेको छ त्यसैले त मलाई देवकोटालाई धरणिधरको गाउँ डुलाउन मन लागेको छ समकालीन कवि सहर देखाउन मन लागेको छ नगर देखाउन, अख्तियार बोलाऊँ भने नगर रित्तिने डर छ वडा रित्तिने डर छ सिंहदरबार सँगसँगै नआउनुपर्ने गाउँमा आएको छ त्यसैले मलाई डर लागेको छ म अरुलाई त बोलाउन सक्दैसक्दिनँ देवकोटा ! तिमी एकपटक दक्षिणकाली नगरतिर नजर लगाइदेऊ धरणिधरको तिमीलाई निम्तो छ । दक्षिणकाली नगरपालिका, वडा नं. २ काठमाडौं