You are here
Home > खुसी बाँडे खुसी बढ्छ > ओसाकामा ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ आयोजना हुँदै, चक्र बम र रेखा जोशीको विशेष प्रस्तुति

ओसाकामा ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ आयोजना हुँदै, चक्र बम र रेखा जोशीको विशेष प्रस्तुति

ओसाका, जापान। सुदूरपश्चिमेली नेपाली समाज जापान, क्षेत्रीय समिति कान्साईको आयोजनामा तथा कर्णाली प्रदेश समाज कान्साईको सहआयोजनामा, गोर्खा ट्रेडिङको टाइटल पार्टनरशिपमा आगामी अक्टोबर १२ तारिख सोमबार ओसाकामा ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ आयोजना हुने भएको छ।

“हाम्रो संस्कृति हाम्रो अभिमान : बाढीपीडितका लागि हाम्रो अभियान!!” भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा चर्चित कलाकार चक्र बम, रेखा जोशी लगायतका कलाकारका साथै कान्साई क्षेत्रमा सक्रिय स्थानीय नेपाली कलाकारहरूको विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ।

कार्यक्रम ओसाकाको कोको प्लाजामा दिउँसो ४ बजेदेखि सुरु हुनेछ। सुदूरपश्चिमको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा र पहिचानलाई जापानमा प्रवर्द्धन गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ।

कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक सेवासँग समेत जोडिएको छ। नेपालका बाढीपीडितका लागि सहयोग जुटाउने अभियानका रूपमा समेत कार्यक्रम आयोजना गरिएको हो।

आयोजकले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई परिवार तथा साथीभाइसहित कार्यक्रममा सहभागी भई नेपाली कला–संस्कृतिको प्रवर्द्धन, स्थानीय कलाकारको प्रोत्साहन तथा बाढीपीडित सहयोग अभियानमा साथ दिन आग्रह गरेको छ।

कार्यक्रमको साधारण टिकट २ हजार येन र विशेष टिकट १० हजार येन तोकिएको छ।

Leave a Reply

Top