You are here
Home > विचार > एन्टी भ्यालेन्टाइन्स डेः ‘तिमीलाई मन पर्ने होइन मन पराउने रोज’

एन्टी भ्यालेन्टाइन्स डेः ‘तिमीलाई मन पर्ने होइन मन पराउने रोज’

स्वागत नेपाल,

शिव खेरले लेखेको एउटा कुराले सधैँ मलाई छुन्छ, अरुका लागि पनि उत्तिकै उपयोगी हुन्छ कि तिमी खुसी हुनुछ भने तिमी आफूलाई मन परेको मान्छेसँग भन्दा तिमीलाई मन पराएको मान्छेसँग विवाह गर ।

भ्यालेन्टाइन डे मनाएका लाखौं करोडौं युवा युवतीहरुलाई यो चाहिँ थाहा छैन होला कि सन्त भ्यालेन्टाइनले चाहिँ कसरी आफ्नो खोजे ? केही वर्ष अघिसम्म रेडिमेड लभ लेटर बोकेर आफूलाई मन पर्ने भ्यालेन्टाइन खोज्दै हिँड्ने, एउटै म्यासेज टाइप गरेर आफ्नो लागि मन पर्ने दर्जनौंलाई कपी पेस्ट गर्ने युवा युवतीले भ्यालेन्टाइन डे मनाइ रहँदा भ्यालेन्टाइनको सम्बन्धि वास्तविकता बुझेनन् ।
बुझून् पनि कसरी मिडियाहरुले पनि हावादारी तथ्यहरु मात्र अगाडि ल्याएर यस दिनलाई केवल प्रणय दिवस मात्र भनेर युवायुवती किशोरीलाई गलत तथ्य मात्र पस्किइरहे ।
वास्तवमा अहिलेका किशोर किशोरी युवायवतीले जस्तो सन्त भ्यालेन्टाइनले आफ्नी भ्यालेन्टाइन खोज्दै हिँडेका होइनन्, न त उनले अरुलाई पनि त्यसो गर्नु भनेका हुन् । राम्रा मान्छे खोज्दै हिँडेर मन परेकीलाई प्रस्ताव गरिहाल्नु भनेको होइन भ्यालेन्टाइनले । उनी भन्थे, ‘ राम्रा, सुन्दर, सम्पन्न, जाज्वल्यमानहरु त यसै छँदै छन् नि, प्रेम त नराम्रा, कुरुप र आवश्यकहरुका लागि हो । ’

हुन पनि धेरै पानी भएको ठाउँको फूल त यसै पनि छँदैछ नि, पानी त रुखो माटोमा उम्रिएको फूललाई पो जरुरी हुन्छ त । पानी नै पानी भएको ठाउँमा पानी हाल्यो भने झन् त्यो फूल कुहिएर जान्छ । सन्त भ्यालेन्टाइनको त्यो सोचलाई जोडेर हेर्ने हो भने हाम्रा भ्यालेन्टाइन खोज्दै रेडिमेड लभ लेटर÷लभ म्यासेज च्यापेर हिँडेका युवा युवतीको सोचमा कति फरक छ ।

अर्को कुरा, सन्त भ्यालेन्टाइन त आफैँ सुन्दर, धारा प्रवाह बोल्न सक्ने, सम्पन्न, सबैका लागि आकर्षक व्यक्तित्व थिए । उनीसँग हरेकले प्रेम गर्न, केही समय बिताउन चाहन्थे । तर भ्यालेन्टाइन भने एउटा जेलरकी अन्धी, लाटी र बहिरी छोरीलाई प्रेम गर्थे । उनी लंगडी पनि थिइन् । कुरुप मानिने उनीसँग भ्यालेन्टाइन प्रेममा थिए । तर, हाम्रा युवा युवती अहिले के सोच्छन् पार्टनर छान्ने विषयमा ? प्रष्टै छ ।
सन्त भ्यालेन्टाइनका लागि कयौं प्रस्तावहरु थिए । उनी त्यतिबेलाको शासनले लिएको राजा क्लाउडिअसको सोचको विरुद्ध जनचेतना जगाउँदै हिँडेका थिए । त्यतिबेला मेकियाभेलीको सोचजस्तै राष्ट्रसेवक कर्मचारीहरु खासगरी सैनिकहरुले विवाह गरे भने घर परिवार हुन्छ, छोरा छोरीका लागि सम्पत्ति कमाउन भ्रष्टाचार गर्नु पर्छ , त्यसैले उनीहरुलाई गृहस्थ जीवनको अनुमति दिनु हुन्न भन्ने सोच थियो । झन् आफू खुसी माया प्रेमको त कुरै छाडौं । जसले राज्यादेश उल्लंघन गर्छ उसका लागि कडा सजायको व्यवस्था थियो ।

सन्त भ्यालेन्टाइनले भने सैनिकको पनि मन हुन्छ, ऊ भित्र पनि माया र न्यानोपन हुन्छ भन्दै भाषण गर्दै, मान्छेहरुलाई प्रेम र गृहस्थ जीवनका लागि उत्साहित बनाउँदै हिँडे । उनले मान्छेलाई प्रेममय जीवन ज्यून, गृहस्थ जीवन सुखमय बनाउन आग्रह गरे । उनी विरुद्ध राज्यद्रोह र धर्म भाँडेको आरोप लगाइयो । अन्ततः उनलाई मृत्यु दण्ड दिइयो ।
१४ फेब्रुअरीकै दिन मृत्यु दण्ड दिइएका सन्त भ्यालेन्टाइनले अहिलेका आफ्नो सम्झनामा मनाइएका भ्यालेन्टाइन डे हरुको विकृति देख्ने हो भने कति धेरै आफैँलाई धिक्कार गर्दै रुन्थे होलान् ।
यस्तो लाग्छ भ्यालेन्टाइनले जस्तो साँच्चै आवश्यकहरुका लागि भ्यालेन्टाइन कोही छैन यहाँ, रुखो माटोमा उम्रिएको, उम्रिए पनि मर्न लागेको फूलमा पानी हाल्ने कोही हुन्न । सबै फूलिरहेको ढकमक्क फूल मात्र हेर्छन् । मान्छेको प्रवृत्ति पनि त्यही हो । तर भ्यालेन्टाइनले त्यसो भनेका थिएनन् उनी त त्यसको विपक्षमा थिए । यदि उनमा त्यस्तै प्रवृत्ति भएको भए उनी शासककै पक्षमा लागिहाल्थे नि ।
साँच्चै कुरुप, विपन्न, चर्चरी फुटेर तरतरी रगत बगेका फुटेका कुर्कुच्चाजस्ता ओठ भएका विपन्न जनताका लागि कोही भ्यालेन्टाइन कोही भएन । वास्तवमा पाएन नेपालले एउटै भ्यालेन्टाइन । भ्यालेन्टाइन डे मनाइरहँदा नेपाल भने आफ्नो अस्तित्व अझैँ बचाउँदै एउटा सन्तजस्तै महान भ्यालेन्टाइन कुरिरहेको छ ।
प्रेम देखाएर, सिंगान पुछिदिएजस्तो गरेर नाक काट्न खोज्ने भ्यालेन्टाइनहरु भने नेपालले धेरै पायो । सबै देशको लागि रगत दिन्छु भन्छन् र रगत सोझै चढाउन खोज्छन् तर विचार गर्दै रगत दिन्छु भनेर मात्र हुन्न, दिएर पनि हुन्न । ग्रुप नमिल्ने रगत सोझै चढाइदिने हो भने फरक ग्रुपको रगतकै कारण मान्छे मर्छ । माया सचेततापूर्वक गर्न नजान्दा पागलपनका कारण मान्छे मर्न सक्छ । भ्यालेन्टाइन सचेततापूर्वक मायाको कुरा गर्थे, पालग बनेर जो राम्रो देख्यो उसैलाई प्रस्ताव गरिहाल्ने होइन । मिडियाले पनि यसलाई राम्रोसँग बाहिर ल्याइदिएन, युवायुवतीहरु आफूलाई मन पर्ने खोजेर आफूलाई मन पराउनेहरुलाई थाहै नभई छोडिरहेछन् ।

संसारभरका धेरै प्रेमका संस्कृति र पर्वहरु भ्यालेन्टाइन डे का कारण लोप भएका पनि छन् । त्यसैले आजकै दिन संसारका विभिन्न देशमा एन्टी भ्यालेन्टाइन डे पनि मनाइन्छन् । यो डे को पनि अपव्याख्या र विकृति बढ्ने, राम्रो र वास्तविक सन्देश मिडियाका कारण नजाने अनि आफ्ना संस्कृति पनि मासिने कारणले यसको विरुद्ध एन्टि भ्यालेन्टाइन डे मनाउनेहरुको संख्या बढिरहेको छ । तर, यसलाई सकारात्मक रुपले लिने हो भने चाहिँ मनाउनेहरुले फेरि एक पटक सोचौं देशका लागि भ्यालेन्टाइनजस्तै बलिदानी भ्यालेन्टाइन बन्न सक्छौं हामी ? किनकि अझै पनि त्यसको आवश्यकता छ । साभारः स्वागतनेपाल डट कमबाट

Leave a Reply

Top