You are here
Home > साहित्य > कथा > धानो

धानो

विनीत ठाकुर

 

गा.वि.स.भवनमा बिहानैदेखि पञ्चहरू भेला भएका थिए । धानोको विषयमा छलफल चल्दै थियो । धानोलाई के गर्ने ? गाउँ निकाला गर्ने कि नगर्ने ? एउटै स्वरमा सबैजना होमा हो मिलाउँदै भन्दै थिए, “धानो यो गाउँकी सबैभन्दा ठुली बोक्सी हो । धानोलाई गाउँमा राखियो भने यसले अरू महिलाहरूलाई पनि बोक्सीको जादु-टुना सिकाएर पारङ्गत बनाउँछे । यो गाउँमा यस्ता कैयौँ नयाँ बोक्सी उत्पादन हुनसक्छन् जसले गर्दा हाम्रो घरपरिवारलगायत मालताल पनि अझै असुरक्षित हुने सम्भावना छ । यसलाई चारपाटा कपाल मुडेर कालो मोसो दली गाउँ निकाला गर्नुमै हामी सबैको भलाइ छ । धानोको यत्रो हिम्मत कि प्रधानजी (गा.वि.स.अध्यक्ष)को छोरालाई नै जादु-टुना गरेर बिरामी बनाइदिने ।”

प्रधानजीका पाँचवटी छोरीपछिको एक्लो छोरो थियो पिन्टु । बडो मान-दान र धेरै देवीदेवताको भाकलपछि प्रधानजीले छोरा पाएका थिए । एक्लो छोरो निको नभएको देखेर प्रधानकी श्रीमती बडो बेचैन थिइन् । प्रधाननीजीले प्रधानजीलाई कर गरेर छिमेकी गाउँको झाँक्री बोलाउन लगाइन् । झाँक्री आफ्नो गाउने बजाउने समूहसँगै चार बजे नै प्रधानजीको घरमा आइपुग्यो । प्रधाननीजीले बिस्तारपूर्वक सबै कुरा झाँक्रीलाई भनिन् । झाँक्रीले प्रधाननीजीलाई विश्वास दिलायो कि जसरी भए पनि म हजुरको छोरालाई ठिक पारेरै छाड्छु । मैले कस्ता कस्ता नामी बोक्सीलाई तह लगाएको छु । उसको सबै गुण र जादु-टुना झिकेर पागलसम्म बनाइदिएको छु । मैले गाउँका कैयौँ भूतप्रेतलाई ब्रम्हस्थाननजिकैको पिपलको रुखमा किलाले ठोकेर बाँधी राखेको छु ।

सप्तमी तिथिको मध्यरातमा झाँक्री आफ्नो सहयोगीसँग मिलेर प्रधानजीको आँगनमा भगतै गाउन थाल्यो । ढोल मजिराको धूनसँगै भगतैको स्वर सुनेर टोलका मानिसहरू पनि प्रधानजीको आँगनमा जम्मा भए । धामीले पहिले विभिन्न देवीदेवता आफूमा समाविष्ट भएको कुरा बतायो । देवता चढेको भनेर है… ह्वी… गर्दै बेँत लिएर काम्न थाल्यो । आँगनमा जम्मा भएका सबै मानिसहरू आआफ्ना घरका इष्टदेवलाई नमस्कार गरेर स्मरण गरिरहेका थिए । धामीले भन्यो, “(है बाबु … एक सत … दोसर सत … तेसर सत … सत कारिक महराजके आगमन भऽगेल छौ । है … हैँ… हैँ…) मेरो जिउमा कारिक महाराज देउता प्रवेश गरेका छन् ।” प्रधाननीजीले दशै औँला जोडेर देउतालाई प्रणाम् गरी छोरा बिरामी हुनुको कारण सोधिन् । छोरालाई धानोले आफ्नो जादु-टुनाबाट बिरामी बनाएको कुरा झाँक्रीले प्रस्ट पारे अनि फेरि प्रधाननीजीले सोधिन्, “महराज, बिहान र बेलुकी गरेर १० किलो दुध दिने मेरो भैँसीलाई कसले मार्‍यो ?” झाँक्रीमा प्रविष्ट गरेको देउताले उत्तर दियो, “त्यही धानोले … ।”

धानोले तीन वर्षसम्म प्रधानजीको घरमा नोकर्नी भएर चुल्लोचौकाको काम गरेकी थिई । त्यस वेलामा प्रधानजीको घरआँगन बढार्ने, दरबजा सफा राख्ने, लिपपोत गर्ने, भाँडाकुँडा सफा गर्ने आदि सबै जिम्मा उसैको थियो । दुई हल गोरु, भैँसी, पाडा, पाडी, गाई, बाछो सबै मालजालको हेरचाह धानोले नै गर्ने गरेकी थिई । गाई र भैँसीको गोठको गोबर सोर्ने जिम्मा पनि उसकै थियो । धानोको एक स्वरमा गाई गोरु थर्कमान हुन्थे । बडो इमान्दारीसाथ काम गरेको देखेर प्रधानजीले उसलाई समय समयमा दैनिकी मजदुरीसँगै बक्सिसस्वरूप लुगाफाटो पनि दिने गरेका थिए ।

प्रधाननीजीले छोरा पाएको वेलामा पनि उनलाई धानोले खुब सेवा गरेकी थिई । सोइरी (प्रसूति गृह)मा गएर पानी तताएर दिने, समयमा खाना खुवाउने अनि बच्चालाई तेल मालिस गर्ने जिम्मा पनि धानोले निर्वाह गरेकी थिई । घरका सबै सदस्यहरूलाई बिहानको चिया अनि गहुँको पिठोको सोहारी (पातलो रोटी) र आलुको भुजिया खाजामा पकाएर दिने जिम्मा पनि धानोले नै सम्हालेकी थिई । धानोको हातको खाना खाएर प्रधानजीलगायत घरका सबै सदस्यहरू दङ्ग पर्ने गर्थे । खेतमा काम गर्ने जन (मजदुर)हरू पनि उसको हातको खाना खाएर मख्ख पर्ने गर्थे । सबैले भन्ने गर्थे, “वाह ! खाना होस् त धानोले पकाएको जस्तो … ।”

धानोको बालविवाह भएको थियो । सानैमा आमाबुबाले धानोको विवाह रमदौवासँग गरिदिएका थिए । रमदौवा गरिब भए पनि श्रीमतीलाई खुब माया गर्थ्यो । दिनभरि जन-मजदुरी गरेर ल्याएको रुपैयाँ-पैसा श्रीमतीलाई नै राख्न दिने गर्थ्यो । श्रीमान्ले ल्याएको पैसालाई बडो जतनसाथ आफ्नो टिनको बाकसमा सात तह कपडामा बेरेर धानोले राख्ने गर्थी । धानो समय समयमा आफ्नो श्रीमान्लाई भन्ने गर्थी, “खर्चाको लागि पुरानो नोट ल्याए पनि हुन्छ तर बाकसमा जम्मा गर्नलाई नयाँ नोट नै लिएर आउनू ।” रमदौवाले हाँसेर उत्तर दिन्थ्यो, “हुन्छ धानो, म तिम्रोलागि बजारबाट साटेर भए पनि नयाँ नोट लिएर आउँछु ।”

रमदौवा बिस्तारै काम सिक्दै लेबरबाट एक नम्बरको राजमिस्त्री भइसकेको थियो । ऊ आफ्नो कामप्रतिको लगन, इमान्दारिता र मिहिनेतले प्रगतिको बाटोमा उँभो लाग्न थालेको थियो । रमदौवा बिस्तारै घर बनाउनको लागि छिमेकी गाउँमा पनि जान थाल्यो । उसको साथीभाइको सङ्गत पनि बढ्न थाल्यो । साथीभाइको सङ्गतले रमदौवा जाँड-रक्सीको कुलतमा फस्दै गयो । यो कुरा धानोलाई पटक्कै मन परेको थिएन । यत्ति जाँड खाएर राति ढिलो किन आउनुहुन्छ ? भनेर धानोले सोद्धा रमदौवा हल्लिँदै उत्तर दिन्थ्यो, “हेर धानो, दिनभरि काम गर्दा गर्दा थकित भएको हुन्छु । थकाइ मार्नलाई एक-दुई गिलास पिउने गर्छु ।” जाँड नपिउनू भनेर धानोले सम्झाउँदा उल्टै रमदौवा ऊमाथि खनिन्थ्यो ।

एक दिन कामबाट फर्किरहेको वेलामा रमदौवा र लेबरहरू भट्टीमा पसे । भट्टीमा ताजा रहु माछा तार्दै थियो । एक एक बित्ताको रहु माछामा रातो मसालाको समिश्रण लेप देखेर रमदौवाहरू आधा किलो माछा, एक किलो चिउरा, चार बोतल लोकल रक्सी र खाली गिलास लिएर सुकुलमा बसिहाले । सबैजना खान र पिउनमा मस्त भए । रमदौवाले अरू लेबरहरूलाई कुरैकुरामा भन्यो, “बिचरा सोधना ! आजै उसलाई ज्वरो आउनुपर्ने ।” अर्को लेबर उदगारले प्रतिउत्तरमा ग्लासमा रक्सी थप्दै भन्यो, “उसको भाग्यमा पनि त लेखेको हुनुपर्‍यो नि यो रहु माछा र यो स्पेसल दारु ।” फिटान भएर पिएपछि सबैजना हल्लिँदै बाटोमा अल्हाउदल लोकनाचको गीत गाउँदै आआफ्ना घर पुगे ।

घरमा पुगेको आधा घण्टापश्चात् रमदौवा वान्ता गर्नथाल्यो । धानोले बढी मात लागेको होला भनेर श्रीमान्को टाउकोमा पानी खन्याएर आँपको अचार खुवाई । रमदौवा नसामा झुम्म भएकोले राति खाना नै नखाई सुत्यो । उसको सुत्ने वेलामा घुर्ने बानी थियो । उसको घुराइ बिस्तारै कम हुँदै गएको देखेर धानोलाई शङ्का लाग्यो । धानोले श्रीमान्को नाडी छामी । रमदौवाको नाडी मन्द गतिमा चल्दै थियो । धानो जोड जोडले चिच्याउन थाली । टोलका सबै महिला-पुरुषहरू रमदौवाको आँगनमा जम्मा भए । धानोको देवर भोलाले गाउँको डाक्टरलाई बोलाएर ल्यायो । गाउँको डाक्टरले अत्यधिक दारु सेवनको कारण रमदौवाको अवस्था नाजुक भएको भन्दै उपचार सुरु गर्‍यो ।

लोकल दारु बनाउने वेलामा सडेको महुवामा भात र अन्य रसायनसँगै खेतमा छर्ने युरिया मलको मात्रा अत्यधिक भएकोले दारु जहरमा परिणत भएको थियो । त्यस साँझ त्यो भट्टीमा दारु पिउनेजति सबै बिरामी परेका थिए । दारु पिउनेजति सबै बिरामी परेको खबर थाहा पाउनेबित्तिकै भट्टीसाहु रातारात भट्टी छोडेर टाप कसेको थियो । अन्ततः अत्यधिक दारु सेवनका कारण ओल्लो गाउँ र पल्लो गाउँ गरेर जम्मा एघार जना मृत्युको मुखमा पुगेका थिए  । त्यसमा रमदौवा पनि परेको थियो ।

सामाजिक शुभकार्य र सामूहिक पूजापाठमा समाजद्वारा वञ्चित विधवा र बेसहारा धानोको कुनै सन्तान पनि थिएन । धानोले मजदुरीबाट जम्मा पारेको रकम र ऊसँग सम्पत्तिको नाउँमा भएको दुई कट्ठा खेतलाई कृषि विकास बैङ्कमा राखेर लिएको लोनबाट एउटा भैँसी किनेकी थिई । त्यहीँ भैँसीको दुध बेचेर ऊ आफ्नो गुजारा चलाइरहेकी थिई । धानोको भैँसीको दुध पूरै गाउँमा प्रशिद्ध थियो । ऊ अलि महँगो भाउमा पानी नमिसाएको शुद्ध दुध बेच्ने गर्थी । आफ्नो परिश्रम र इमान्दारिताको कमाइले धानोले एक वर्षमै कृषि विकास बैङ्कको कर्जा चुक्ता गरेर केही नाफा पनि आर्जन गरिसकेकी थिई ।

धानोलाई उसको घरबाट गा.वि.स.की पियन सोनफी र गाउँका केही मानिसहरूले घिसार्दै पञ्चैतीमा ल्याए । ऊ दश औँला जोडेर पञ्चहरूको सामुन्ने थरथर काम्दै उभिएकी थिई । ऊ भक्कानो छोडेर रुँदै, कराउँदै सफाइमा केही भन्न चाहिरहेकी थिई तर त्यहाँ कोही पनि उसको बोली सुन्नलाई तयार थिएन । झगरु नेताले रिसाउँदै धानोलाई भन्यो, “तिमी आफ्नो सबै दूत-भूतलाई यो झाँक्रीको अगाडि प्रकट गर नत्र तिम्रो आज खैरियत छैन । तिमीले गर्दा यो टोलमा उत्पात नै मच्चियो । बुधनाकी बुहारीको दुई महिनाको गर्भ तिमीले नै आफ्नो जादुबाट तुहायौ । मोहनाको बाख्रा पनि तिमीले नै मारेको हो । हँ ! कहाँबाट तिमी यस्तो पक्का जादु-टुना सिकेर आयौ धानो ?”

धानोले थरथर काम्दै पहिलोपटक प्रधानजीको आँखामा आँखा जुधाउँदै भनी, “प्रधानजी, म हजुरको घरमा त्यतिका दिन काम गरेँ । आफ्नै हातले बच्चा र प्रधाननीजीको सेवा गरेँ । म कसरी यस्तो काम गर्नसक्छु ! मलाई जादुको “ज” अक्षर पनि थाहा छैन । मैले हजुरको नुन खाएकी छु प्रधानजी । मेरो बिन्ती छ हजुरलाई । यस्तो आरोप म गरिब एकल महिलामाथि नलगाउनू । म बोक्सी होइन प्रधानजी । म निर्दोष छु ।” प्रधानजी चुपचाप धानोको सबै कुरा सुनिराखे तर एक शब्द पनि आफ्नो मुखबाट निकालेनन् । पञ्चैतीमा जम्मा भएका पञ्चहरूमध्येबाट झगरु नेताले सोनफी पियनलाई धानोको कपाल काट्नलाई आदेश दियो । धानो पटक पटक नेताहरूसँग आफ्नो रिहाइको भिख माग्दै थिई तर …. । सोनफीले कैँचीले धानोको कपाल काट्न थाल्यो । सयौँ गाउँलेहरूका बिचमा विधवा धानोमाथि अपमानको ताण्डव सुरु भयो । गाउँका अरू महिलाहरू पनि परबाट पञ्चायतले गरेको फैसला हेर्दै र सुन्दै थिए तर ठुलो अन्धविश्वासको जरा गाडिएको समाजमा बोक्सीप्रथाको विरुद्धमा बोल्ने आँट कसैले गरेनन् !

सोधनालाई आफ्नै आँखाअगाडि धानोको कपाल काट्दै गरेको देखेर उसलाई असैह्य भयो ।  धानोको रुवाइले उसको अन्तरआत्मालाई धिक्कार्‍यो । सोधनाले मनमनै सोच्यो, “आज रमदौवा ठेकेदार जीवित भएको भए धानोमाथि यस्तो अन्याय हुँदैनथ्यो होला । ठेकेकारले सधैँ हामीलाई आफ्नै पैसाले जाँड ख्वाउँथ्यो । कहिलेकाहीँ परेको वेलामा पैसा पनि त सापटी दिन्थ्यो । जीवित छँदा ठेकेदारले मलाई ख्वाएको दारुको कसम, म धानोमाथि यस्तो अन्याय हुन दिन्न ।”

सोधना पञ्चैतीबाट उठेर पहिले अलि पर गएर उभियो । हुलमुलमा उसमाथि कसैले शङ्का गरेन । ऊ विस्तारै पञ्चायत भवनको चौरबाट बाहिर निस्कियो । सोधना आफ्नो सुरक्षित स्थान खोज्दै ब्रह्मस्थानको ठुलो पिपलको बोटको छेउमा पुग्यो । उसले त्यहाँ पुगेर आफ्नो खल्तीबाट पुरानो मोबाइलको सेट झिकेर १०० नं.मा पुलिसलाई फोन गरी सबै कुरा सबिस्तार बताएर फेरि पञ्चायतकै हुलमा फर्कियो ।

धानोको कपाल चारपाटे मुडिसकिएको थियो । सोनफी पियनले एउटा सानो कचौरामा कालो रङ राखेर त्यसमा तोरीको तेल आफ्नो औँलाले मिलाउँदै गर्दा त्यहाँ पुलिसको भ्यान आइपुग्यो । पञ्चायत भवनको चौरमा धानोमाथि अन्याय गरिरहेका पञ्चहरूबिच भागदौड मच्चियो । मुकदर्शक भएका गाउँलेहरू पनि त्यहाँबाट भाग्नथाले । पुलिसहरूले सबैभन्दा पहिले भाग्दै गरेका प्रधानजी, झाँक्री र अरू नेताहरूलाई समाते । आदेश दिने झगरुलाई पनि हुलबाट भाग्न खोज्दा उसलाई सोधनाले छेको हाली समाएर पुलिसलाई बुझायो । अन्यायको रमिता परैबाट हेरिरहेका महिलाहरू पनि स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै आआफ्ना घर लागे ।

त्यहाँ धानोको ज्यानको असुरक्षा देखेर पुलिसले पञ्चहरूसँगै धानोलाई पनि भ्यानमा राखेर सिधै जिल्ला प्रहरी कार्यालयमा पुर्‍याए । त्यहाँ सबै पञ्चहरूलाई पुलिसले थुने । डिएसपीको अगाडि रुँदै धानोले सबै कुरा छर्लङ्ग पारी । डिएसपी यो ज्ञान-विज्ञानको जमानामा पनि यस्तो सामाजिक अपराध कायमै छ भनेर अचम्ममा परे ! उनले जसरी भए पनि म न्याय दिलाउँछु भन्ने आश्वासन धानोको माइती पक्षलाई दिए । धानो जिल्ला प्रहरी कार्यालयबाट सिधै आफ्नो माइतीको शरणमा पुगी ।

धानोको मुद्दा पञ्चहरूको विरुद्धमा जिल्ला अदालतमा दर्ता भयो । मुद्दा दर्ता भएपछि नाम चलेका वकिलको जमानतमा धरौटी राखेर सबै पञ्चहरू बिस्तारै बिस्तारै तारिकमा रिहा भए । मुद्दा जिल्ला अदालतबाट विभिन्न चरण पार गर्दै  अहिले सर्वोच्च अदालतमा चलिरहेको छ ।  ३४ वर्षको उमेरमा गरिब र कर्मनिष्ठ एकल महिला धानोमाथि बोक्सीको आरोप लगाइएको थियो । अहिले ६५ वर्षमा प्रवेश गरिसकेकी कर्मनिष्ठ धानो म निर्दोष छु र उचित न्याय पाउने छु भन्ने आशामा अदालतको न्यायको पर्खाइमा दैनिक मजदुरी गर्दै आफ्नो माइतीमा बसेकी छे । धानोले प्रण गरेकी छे कि जबसम्म म न्याय पाउँदिन तबसम्म म आफ्नो गाउँ फर्किन्न ।

 

Leave a Reply

Top