You are here
Home > साहित्य > गन्तव्य

गन्तव्य

-नेत्र एटम

झिस्मिसे हुनुअघि नै
कृयाशील भएका छन्
काभ्रोको रुखमा आशृत चराहरु
जगर पारेर ठाडो
सचेत आवाज निकालिरहेछ
बकैनाको कापमा बचेरा हुर्काइरहेको कौवा
ढोकाको जालीबाट छिरेको छ
मन्दमन्द शीतल पवन
गाउँ सम्झाउँदै छ कुर्के ढुकुरको लययुक्त स्वर
छिमेकीको घरबाट
घाँटी तन्काएर बासिसकेको छ रातो समय
बुझ्नुभयो नि !
पूर्वको पहाडबाट उदाउने बालसूर्यको सङ्केत गरिरहेछ प्रकृति
बिउँझेको छु म पनि सम्पूर्णत:
उज्यालोको ऊर्जा समाहित गरेर आफ्नो मन र शरीरमा
गतिशील भइरहेछु बाटोतिर
फुक्काफाल छन् पाइला
जहाँ पुग्छु
त्यहीसम्म नै हो मेरो
प्रिय गन्तव्य ……….

Leave a Reply

Top