जापानमा नेपाली क्रिकेटको इतिहास रच्दै ओसाका स्टार्स फाइनलमा खेलकुद प्रवास September 6, 2026 ओसाका, जापान। जापान क्रिकेट एसोसिएसनद्वारा आयोजित २०२६ जापान कप–कान्साई डिभिजन १ प्रतियोगितामा नेपाली खेलाडीहरूको बाहुल्यता रहेको ओसाका स्टार्स फाइनलमा प्रवेश गरेको छ। यस स्तरको प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो नेपाली टोली बन्दै स्टार्सले जापानमा नेपाली क्रिकेटको इतिहासमा नयाँ उपलब्धि हासिल गरेको हो। आइतबार, ६ सेप्टेम्बर २०२६ मा काइजुका क्रिकेट मैदानमा भएको सेमिफाइनलमा ओसाका स्टार्सले ओसाका लायन्सलाई २१ रनले पराजित गर्यो। पहिले ब्याटिङ गरेको स्टार्सले २० ओभरमा ९ विकेट गुमाउँदै १५८ रन बनायो। सन्दीप नेपालीले ३६ बलमा ५९ रनको उत्कृष्ट इनिङ खेले भने पी. चन्दले २८ र एस. पन्तले ७ बलमा १५ रन जोडे। १५९ रनको लक्ष्य पछ्याएको लायन्स २० ओभरमा १३७/९ मा रोकियो। स्टार्सका सौरभ आचार्यले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर ५ विकेट लिए। शिवराज पन्तले ३ तथा एन. रिशालले १ विकेट हात पारे। लायन्सका चनाका दुश्मन्थाले २४ बलमा ४५ रन बनाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्। यो जितसँगै ओसाका स्टार्स कान्साई डिभिजन १ को उपाधिबाट एक कदम टाढा पुगेको छ। टोलीको ऐतिहासिक सफलताले जापानमा रहेका नेपाली क्रिकेट खेलाडी तथा क्रिकेटप्रेमी समुदायमा उत्साह थपेको छ।