You are here
Home > खुसी बाँडे खुसी बढ्छ > भोटेकोशी बाढीका दिवंगतहरूको सम्झनामा बिहुँकोट समाज कान्साईले ओसाकामा दीप प्रज्वलन गर्ने

भोटेकोशी बाढीका दिवंगतहरूको सम्झनामा बिहुँकोट समाज कान्साईले ओसाकामा दीप प्रज्वलन गर्ने

ओसाका, जापान। नेपालमा हालै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा बिहुँकोट समाज जापान, कान्साई क्षेत्रीय समितिले ओसाकामा दीप प्रज्वलन एवं श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने भएको छ।

समितिले सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्रम सेप्टेम्बर ७, २०२६ सोमबार साँझ ६ बजे ओसाका सिटीस्थित 大阪市立阿倍野市民学習センター (ओसाका सिटी आबेनो सिटिजन्स लर्निङ सेन्टर) मा आयोजना हुनेछ।

कार्यक्रममार्फत भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएका दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन तथा श्रद्धाञ्जली अर्पण गरिनेछ। साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै विपद्को पीडामा रहेका परिवारप्रति ऐक्यबद्धता जनाइने आयोजकले जनाएको छ।

बिहुँकोट समाज जापान कान्साई क्षेत्रीय समितिले आफ्ना आजीवन सदस्यहरू, जापानमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा शुभेच्छुक महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न अनुरोध गरेको छ।

नेपालमा आएको पछिल्लो बाढी तथा पहिरोपछि जापानस्थित नेपाली समुदायले विभिन्न स्थानमा श्रद्धाञ्जली, दीप प्रज्वलन तथा राहत सहयोगका कार्यक्रम सञ्चालन गरिरहेका छन्। एनआरएनए जापानले पनि भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको थियो भने अन्य नेपाली संघसंस्थाले समेत राहत तथा सहयोग अभियान सञ्चालन गरेका छन्।

 

Leave a Reply

Top