नयाँ वर्षको अवसरमा एनआरएनए कन्साईको ‘सांस्कृतिक धमाका’ प्रवास समाचार साहित्य December 26, 2025 ओसाका, जापान —गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान कन्साई क्षेत्रीय समितिले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा विशेष “सांस्कृतिक धमाका“ कार्यक्रम आयोजना गर्ने भएको छ। “सांस्कृतिक धमाका“मा लोक प्रिय गायक हेमन्त शर्मा, लोक तथा दोहोरी गायक प्रकाश पराजुली तथा अस्मिता डल्लाकोटीको प्रस्तुती रहने एनआरएनए जापान कान्साईका उपसंयोजक तथा नयाँ वर्ष विशेष कार्यक्रमका संयोजक शंकर भुषालले जानकारी दिनुभयो। “जहाँ समस्या त्यहाँ एनआरएनए कन्साई” भन्ने मूल नारासहित आयोजना गर्न लागिएको यस कार्यक्रममा कन्साई क्षेत्रका नेपालीहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ। नयाँ वर्षको उल्लासलाई सांस्कृतिक कार्यक्रममार्फत साझा गर्ने उद्देश्यले आयोजना गरिएको यस विशेष कार्यक्रममा विविध मनोरञ्जनात्मक तथा सांस्कृतिक प्रस्तुतिहरू रहने एनआरएनए कान्साईका संयोजक भीम काउचा (अनुप)ले बताउनु भयो। एनआरएनए जापान कान्साईका उपसंयोजक लक्ष्मण न्यौपानेका अनुसार कार्यक्रम यही २०२६ जनवरी १ तारिख बिहीबार जापानको ओसाका शहरमा अवस्थित सनराइज इभेन्ट हल होम्माचीमा सम्पन्न हुनेछ। कार्यक्रमको मुख्य उद्देश्य कान्साई क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सद्भाव र एकता सुदृढ गर्नुका साथै भइपरी आउँदा सहयोग हुने उद्देश्यले अक्षय कोष निर्माण गर्नु रहेको रहेको बताइएको छ। कार्यक्रममा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा, जापानका विभिन्न स्थानमा नेपाली कला, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले गठन गरिएको नेपाली तथा जापानी विद्यार्थीहरूको समूह ‘लालीगुराँस’ ले विशेष सांस्कृतिक प्रस्तुति दिने जानकारी दिइएको छ।