त्रिपाल व्यवस्था गरिने मतदान केन्द्रमा समाचार May 10, 2022May 10, 2022 यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका दिन वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्री समेतको सुरक्षा गर्न निर्वाचन आयोगले तदारुकता देखाएको छ। उक्त दिन बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मतदान हुने सबै मतदान केन्द्रमा वर्षाको पानीबाट बच्न पाल/त्रिपाल वा प्लाष्टिक व्यवस्था गर्न आयोगले सबै स्थानीय तहले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई निर्देशन दिने निर्णय गरेको छ। साथै सोको आवश्यक समन्वय एवं सहजीकरणका लागि गृह मन्त्रालयमार्फत सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।