अनेसास जापानको अनलाइन साहित्यिक कार्यक्रम “साहित्य चौतारी “ पुनः सञ्चालनमा आउने प्रवास साहित्य January 20, 2022 अनेसास जापानको अनलाइन साहित्यिक कार्यक्रम “साहित्य चौतारी “ पुनः सञ्चालनमा आउन थालेको अनेसास जापानले जनाएको छ। निवर्तमान अध्यक्ष गिरिजा गैह्रेको नेतृत्वमा रहेको कार्यसमितिले आरम्भ गरेको उक्त कार्यक्रम २१ औँ शृङ्खलासम्म चलेको थियो। तत्कालीन महासचिव रविन शर्माको सहजीकरणमा ती कार्यक्रमहरू सम्पन्न भएका थिए। संस्थाका पूर्व अध्यक्षहरूलाई अतिथि बनाएर आरम्भ गरिएको उक्त कार्यक्रम २१ औँ शृङ्खलासम्म आइपुग्दा जापानमा रहनुहुने साहित्य सर्जक तथा नेपाललगायत विश्वभरिबाट थुप्रै सर्जकहरूलाई जोडिएको थियो। २२ औँ शृङ्खलामा कवि तथा समालोचक नेत्र एटम काठमाडौबाट, कवि शकुन आँसु कोरियाबाट र कवि आर्यश शर्मा घिमिरे काठमाडौबाट अतिथिका रूपमा आमन्त्रित हुनुहुन्छ। हरेक महिनाको तेस्रो आइतवार सञ्चालन हुने उक्त कार्यक्रमको सहजीकरण संस्थाका महासचिव शरद पोख्रेलले गर्ने गरी तयारी अगाडि बढाइएको छ।२२ औँ शृङ्खला यही जनवरी २३ तारिख(माघ ९) गते जापानी समयानुसार बेलुका ८ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ।