अर्द्धमुदित नयनमा बुद्धासन साहित्य August 12, 2021 -विश्व सिग्देल खुँडा, खुकुरी, बम, बन्दुक चाहिन सक्छन् लुट्न मानिस तर देश लुट्न यी नभए हुन्छ किनकि देश, लुटेराविरुद्ध उभिँदैन प्रतिरोधमा… कविता वाचन गर्ने कवि मुठ्ठी कसेर, दाह्रा किटेर, काम्दै कविता वाचन गर्दै थिए । कवि नजिकै विशेष अतिथिको आशनमा विराजमान थिए देशका गन्यमान्य नेता । उनका अर्द्धमुदित नयन कविका कविताले पूरा खुलेका थिए । अघिको बुद्धासन अहिले चनाखासनमा बदलिएको थियो । उनले चनाखो भई कविता सुने । उनी बिस्तारै चिन्तित हुन थाले । ‘अरे ! कवि कसरी यति बिघ्न बाठो भयो ? कसरी थाहा पायो गुह्य कुरा…? फेरि यसको कविता मग्न भएर यत्रो भिड सुन्दै छ । के अव सबैले…?’ उनी चिन्ताको दहमा गोता लगाउन थाले । माइक्रोफोन छोडेर श्रोता दीर्घामा कवि पुग्दानपुग्दै नेताजी पुनः आश्वस्त देखिए । उनी कविता लेख्ने र सुन्नेमध्ये पर्दैनथे । उनी कविता काँटछाँट गर्ने, प्रकाशन गर्ने र विमोचन गर्ने अनि मञ्चको शोभा बढाउनेमध्ये पर्दथे । अतः उनी ढुक्क भई प्रतिरोधमा नउत्रने देशको भलाइका नयाँ नयाँ तरिकाका चिन्तनमा लीन भए । पुनः उनी अर्द्धमुदित नयनमा फर्केः बुद्धासन कसे ।