नानीहरुको सुस्वास्थ्य र दिर्घायुको लागि १०८ कुमारी पुजा विविध समाचार November 17, 2018 सौगात मन्टेश्वरी, कीर्तिपुर इनर व्हिल क्लब र दीपश्री क्रिएटिभ मिडियाले यहि मंसीर १ गते शनिबार बिहान १०८ कन्या पुजाको आयोजना गरेको छ । कलंकी मैत्रीनगरमा अवस्थित इशानेश्वर मन्दिरमा आयोजना भएको उक्त पुजामा सम्भव छ नेपाल संस्थाले समेत सहकार्य गरेको थियो । स्थानिय बासिन्दाहरु तथा अभिभावकहरुको प्रत्यक्ष सहभागितामा साना साना नानीहरुको सुस्वास्थ्य तथा दिर्घायूको कामना सहित विगत चार वर्ष देखि निरन्तर रुपमा यस किसिमको पुजा गरिदै आएको र विशेष गरी ९ वर्ष मुनिका बेल विवाह नभएका र गुन्योचोली नदिएका नानीहरुलाई मात्र उक्त पुजामा समावेश गरिएको सो कार्यक्रमकी आयोजक प्रमुख राज्य लक्ष्मी बैदारले जानकारीे दिनुभयो । हाम्रो परम्परा देखि मान्दै आएको कला सँस्कृतिको महत्व अहिलेको नयाँ पुस्तालाई हस्तान्तरण गर्न र पछिल्लो पुस्ता सम्म जिवन्त राख्न यस्ता किसिमका धार्मिक कार्यहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने हुँदा यस्तो कार्यलाई निरन्तरता दिँदै आईरहेको बैदारले बताउनु भयो । त्यसैगरी १०८ कुमारी पुजाको विशेष समारोह्रका प्रमुख संयोजक, दीपश्री क्रिएटिभ मिडियाका निर्देशक एवं पत्रकार दिपक लामिछानेले यस प्रकारको धार्मिक कार्यलाई नेवारी समुदायमा मात्र सिमित नराखी सबै समुदायका नानीहरुलाई समेटेर जिउँदो देवीको रुपमा पुजा गरी उनीहरुको सुस्वास्थ्य र दिर्घायुको कामना सहित नारीको सम्मान गर्ने शुभ कार्यमा दीपश्रीले समेत सहकार्य गरि कार्यक्रम सफल बनाउन पाएकोमा अत्यन्तै खुशी व्यक्त गर्नुभयो ।