You are here
Home > प्रवास > यस्तो छ जापानमा कामदार भिसाको वास्तविकता

यस्तो छ जापानमा कामदार भिसाको वास्तविकता

-तारा निधि लोहनी 

(यो जापान सरकारका विभिन्न मन्त्रालयहरुले २०१९ अप्रिल १५ सम्म सर्बसाधारणको लागि राखेका समाचार लाई जापानिज भाषाबाट अनुवाद गरी सोको  विश्लेशण गरी राखेको लेख हो)

पृष्ठभुमि

जन्म दर घटी, बृध्दबृध्दाहरुको संख्या बढ्दै गएको एवं सन् २०१० बाट जापानको जनसंख्या पनि घट्दै गएको हुनाले साना र मझौला उद्योगहरुमा कामदारको अभाव हुन थालेको कुरा कामदार भित्र्याउने जापानको नयां कानुन बनाउनु पर्ने पृष्ठभुमिमा लेखिएको छ। यही सिलसिलामा जापानी संसदले भर्खरै विदेशी कामदार भित्र्याउने सम्बन्धमा नयां विधेयक पास गरी दुइ नयां भिसाको किसिम थपेको छ। ती हुन, ‘विशेष दक्ष १’ र ‘विशेष दक्ष २’  (जापानी भाषामा, तोकुतेइ गिनोउ इचि र तोकुतेइ गिनोउ नि)। कामदार भित्र्याउने सम्बन्धमा अहिले सम्म सम्झौता भइसकेका ९ वटा देशहरु मध्ये नेपाल पनि एक रहेको छ। अरु ८ देशहरु भिएतनाम, फिलिपिन्स, क्याम्बोडिया, इन्डोनेसिया, थाइल्याण्ड, म्यानमार, चिन र मंगोलिया हुन।

जापानी सरकारले जम्मा १४ खालका कामहरुमा ५ वर्षभित्रमा ३,४५,००० जति कामदार भित्र्याउने लक्ष राखेको देखिन्छ (कोष्ठ भित्रको संख्याले जम्मा कामदार संख्या जनाउँछ)। ति क्षेत्रहरु हुन, १) नर्सिंग सेवा (६०,०००), २) घरको सरसफाइ (३७,०००), ३) कृषि (३६,५००) ४) मत्स्यपालन उद्योग (९,०००), ५) खाद्य सामग्री एवं पेय पदार्थ उद्योग (समुन्द्रिक खानेकुरा समेत) (३४,०००), ६) रेस्टुरेन्ट सेवा (५३,०००), ७) मेटेरियल उद्योग (२१,५००), ८) औध्योगिक मेसिनहरु सम्बन्धि उद्योग (५,२५०), ९) विजुलिका सरसामान सम्बन्धि उद्योग (४,७००), १०) निर्माण उद्योग (४०,०००), ११) पानी जहाज र सो सम्बन्धि उद्योग (१३,०००), १२) मोटर गाडि मर्मत सम्भार उद्योग (७,०००), १३) हवाइजहाज एवं विमानस्थल भित्रको काम (२,२००), अनि, १४) होटल वा सो सम्बन्धि काम (२२,०००)। सबै देशका कामदारहरु मिलाएर यो संख्या हुने हुनाले नेपालबाट कति जना लिने भन्ने सम्बन्धमा अहिले किटान गर्न गाह्रो छ। द्विपक्षीय सम्झौता गर्दा जापान सरकारसंग संख्याको किटान गरेको भएमा नेपाल सरकारले आउने सूचनामा राख्ने नै छ।

नयाँ कामदार भिसा (‘विशेष दक्ष १’, ‘विशेष दक्ष २’)

खास दुइ किसिमका भिसाको कुरा गरिएपनि निर्माण उद्योग र पानी जहाज एवं सो सम्बन्धि उद्योगमा मात्र ‘विशेष दक्ष २’ को व्यवस्था भएको र हाल ती दुबै उद्योगमा कामदार ल्याउन स्थगित गरिएकोले अहिले तुरुन्तै ल्याउने कामदार चाहिं ‘विशेष दक्ष १’ नै हुनेछ। यस सिलसिलामा जापानभित्रै अन्य भिसामा रहेका विदेशिहरु र जापान बाहिरका देश मध्ये फिलिपिन्समा यही अप्रिल १४ तारिकका दिन परिक्षा पनि शुरु भइसकेको छ।

कामदारहरुको उमेरको सम्बन्धमा १८ वर्षभन्दा माथि लेखिएकोले उमेरको माथिल्लो हद देखिँदैन। त्यस्तै शैक्षिक प्रमाणपत्रहरु चाहिने भन्ने पनि उल्लेख पाइँदैन। तर कति पढेको, कहिले पास भएको आदि कुरा बिभिन्न ठाउँमा लेख्नुपर्ने चाहिँ हुन्छ नै। साथै, एउटै काममा पुर्ण समय काम गर्ने भएकोले एक भन्दा बढी ठाउँमा काम गर्न नमिल्ने देखिन्छ। यी दुबै कामदार भिसाको विस्तृत जानकारीहरु तल बुंदागतरुपमा दिइएको छ।

विशेष दक्ष १

  • परिक्षा
  • काम गर्ने प्रत्येक क्षेत्रमा सम्बन्धित विषयको जाँच हुने र सो परिक्षामा पास हुनु पर्ने। परिक्षा स्थानिय भाषामा लिइने छ। परिक्षा लिने संस्थाले विभिन्न देशमा क्रमैसंग सो को व्यवस्था मिलाउँदै जाने भनिएकोले नेपाल सरकारबाट उपयुक्त समयमा सोको सूचना जारी हुने अपेक्षा गरिन्छ।
  • जापानिज भाषाको साधारण ज्ञान भएको हुनुपर्ने (JEES बाट लिइने जापानिज भाषाको जेयलपिटि (JLPT) परिक्षाको एन फोर (N4) लेवल वा सो भन्दा माथिल्लो तह पास भएको अथवा जापान फाउण्डेसनबाट लिइने JFT, Basic लेवल पास हुनुपर्ने)। सो र सो भन्दा माथिल्लो तहको प्रमाणपत्र पहिलेनै लिइसकेका व्यक्तिले भने फेरि जाँच दिनु पर्दैन।
  • आफुले निवेदन दिने क्षेत्र अनुसार माथि (ख) मा थप गरी जापानिज भाषाको परिक्षा दिनु पर्ने हुनसक्छ। उदाहरणको लागि नर्सिंग सेवामा सेवा सम्बन्धित थप जापानिज भाषा परिक्षाको व्यवस्था गरिएको छ जुन माथि (ख) को भन्दा अलि गाह्रो देखिन्छ।
  • जापानमा परिवार लिएर जान नपाउने।
  • शुरुको भिसा अवधि १ वर्षको हुने तर प्रत्येक ४ वा ६ महिनामा थप भई, बढीमा ५ वर्षसम्म बस्न पाउने।
  • अनुभव र थप ज्ञान हासिल गर्न सकेमा ‘विशेष दक्ष २’ खालको भिसामा परिवर्तन गर्न सक्ने अवसर पाउने र त्यसपछि ‘विशेष दक्ष २’ को नियम अनुसार हुने।
  • तलव भत्ता आफ्ना तहका जापानिज नागरिक सरह हुने। 

विशेष दक्ष २

  • परिक्षा
  • काम गर्ने प्रत्येक क्षेत्रमा सम्बन्धित विषयको जांच हुने र सो परिक्षामा पास हुनुपर्ने। माथिको (विशेष दक्ष १) भन्दा उच्च तहको दक्षता भएको हुनुपर्ने।
  • जापानिज भाषाको जांच नहुने (१ मा हुने जांचबाट मुल्यांकन हुने सम्भावना)।
  • जापानमा परिवार लिएर जान पाउने (हालको व्यवस्थालाइ हेर्दा परिवार भन्नाले श्रीमान वा श्रीमती र बच्चाहरु पर्ने छन्। बाबुआमा र परिवारका अन्यजनहरु साधारणतया यसमा नपर्ने)।
  • शुरुको भिसा अवधि ३ वर्षको हुने तर प्रत्येक ६ महिना वा १ वर्षमा भिसा थप भई, लामो समयसम्म जापानमा बस्न पाउने। मन लागेमा लामो समयको भिसा (परमानेन्ट रेजिडेन्स) मा निवेदन गर्न पाउने।
  • तलव भत्ता आफ्ना तहका जापानिज नागरिक सरह हुने।

परिक्षा सम्बन्धि थप जानकारी (नर्सिंग सेवा)

परिक्षा सम्बन्धि उदाहरणको लागि, छनौट प्रक्रिया सम्बन्धमा जापान सरकारको स्वास्थ्य, श्रम तथा समाजसेवा मन्त्रालयबाट ‘नर्सिंग सेवा’ (कामदार लिने जम्मा १४ उद्योग मध्यको एउटा) को लागि लिने भनिएको परिक्षाको खाका तल अनुसार देखिन्छ।

१) नर्सिंग सेवामा ‘विशेष दक्ष १’ तहका कामदार लिने र सोको लागि तलका ३ परिक्षामा पास हुनु पर्ने।

क) नर्सिंग सेवा सम्बन्धि जांच हुने र सो परिक्षामा पास हुनु पर्ने। परिक्षा स्थानिय भाषामा लिइने छ। जाँच कम्प्युटरको माध्यमबाट लिइन्छ। जापान बाहिरका देशमा वर्षको करिव ६ पटक परिक्षा लिने व्यवस्था मिलाइने र शुरु हुने मिति २०१९ अप्रिल हुनेछ। परिक्षाको समय जम्मा एक घण्टा हुने र ४५ वटा प्रश्नहरुको उत्तर दिनु पर्ने। जसमध्ये स्वास्थ्य सम्बन्धि आधारभुत प्रश्न १० वटा, शारिरिक र मानसिक सिध्दान्त संग सम्बन्धि ६ वटा, संचार सीपका ४ वटा, फिजिकल केयरका २० वटा, र स्वास्थ्य सम्बन्धि व्यावहारिक ज्ञानका ५ वटा हुनेछन।

ख) जापानिज भाषा परिक्षाः माथि (विशेष दक्ष १) को लागि लेखिएको बुंदा १ख बमोजिम।

ग) नर्सिंग सेवा सम्बन्धि जापानिज भाषा परिक्षाः सम्बन्धित सेवामा काम गर्नको लागि नभइ नहुने भाषाको ज्ञानको अपेक्षा गरिएको हुंदा माथि (ख) को भन्दा अलि गाह्रो हुनसक्ने। परिक्षाको समय जम्मा ३० मिनटको हुने र १५ वटा प्रश्नहरुको उत्तर दिनु पर्ने। जसमध्ये सम्बन्धित विषयका प्राविधिक भाषाका ५ प्रश्न,  संचार सीपका ५ प्रश्न, सेवा सम्बन्धि ५ प्रश्न हुनेछन।

२) सीप-परिक्षा इन्टरनेट जोडिएको कम्प्युटरको माध्यमबाट लिइने र शुल्क १ हजार जापानिज एन लाग्ने। भाषा परिक्षा बेग्लै दिएमा सोको थप दस्तुर लाग्न सक्नेछ।

छनौट प्रक्रिया

नेपाल र जापान सरकार बिच सम्झौता हुंदा बिचौलियालाइ काम नदिई नेपाल सरकार आफैले यो कामदार छनौट प्रक्रिया जिम्मा लिने भन्ने कुरा हालसम्म पत्रपत्रिकाबाट थाहा भएको छ। त्यसैले दक्षिण कोरियाको लागि व्यवस्था भए जस्तै जापानमा रोजगारीमको लागि पठाउनका लागि मन्त्रालयभित्र छुट्टै संयन्त्र बनाइने सम्भावना देखिन्छ। नेपालमा गरिने छनौट प्रक्रियाको विस्तृत जानकारीहरु होमपेज आदिमा छिटैनै सूचना आउने आशा गर्न सकिन्छ। नेपालको सरकारी सूचना पर्खदै गर्दा जापानका मन्त्रालयहरुले योजना गरिरहेका यस खबरका बुंदाहरुलाइ ध्यान दिँदा तयारीमा सघाउ पुग्ने लागेकोले यो सानो जानकारी तयार गरिएको हो।

नेपाल सरकारको आधिकारिक छनौट प्रक्रिया केही तल माथि हुन सक्ने र निवेदन दिने म्याद, स्थान आदिको जानकारी लिनको लागि पनि नेपाल सरकारको श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभागमा आँखा लगाइरहनु पर्ने हुन्छ। पर्खने क्रममा जाँच कम्प्युटरको माध्यमबाट लिइने र हालको वैदेशिक रोजगारीको लहरलाइ हेर्दा निकै प्रतिस्पर्धा हुने देखिएकोले कम्प्युटरको जानकारी पटक्कै नभएका व्यक्तिले (माउस, किबोर्ड चलाउने ज्ञान) चाहिँ केहि अगाडि नै साधारण ज्ञान लिंदा राम्रो देखिन्छ। सिबिटि (CBT) परिक्षा दक्षिण कोरिया संग भएको इपियस सम्झौतामा पनि लागु गरिएको हुँदा धेरैलाइ थाहा भैसकेको हुनुपर्छ। 

कामदारहरु जापान आएपछि भाषाको ज्ञान बढाउने, रहनसहन सिकाउने आदि काम अनिवार्य रुपमा गराउनु पर्ने भएकोले जापानमा कामदारहरु लिने त्यस्ता ‘सेवाको लागि दर्ता हुने संस्था’ को चयन गर्ने प्रक्रिया चलिरहेको छ। नेपालका कामदारहरु लिन इच्छुक संस्थाहरु पनि चांडै नै देखा पर्ने नै छन। यसरी माथिका सबै परिक्षामा पास भएका व्यक्तिहरुले कामदार लिने संस्थासंग सोझै वा ‘सेवाको लागि दर्ता हुने संस्था’ मार्फत सम्पर्क गरी उल्लेख भएका शर्तहरु ठिक लागेमा कामको करारनामा गर्नुपर्ने र आवश्यक स्वास्थ्य परिक्षा पनि गर्नुपर्ने हुन्छ। साथै सो संस्था बाट दिइने काममा जानु अघिको अभिमुखिकरण तालिम आदी पनि लिनु पर्नेछ। हालको जानकारी अनुसार, जापानका उक्त संस्थाहरुले करार सम्पन्न भएका निवेदक कामदारको तर्फबाट जापानमा कामदार भिसा ‘विशेष दक्ष १’ को लागि निवेदन दिने छन। जापान सरकारको अध्यागमन कार्यालयबाट स्विकृति आएपछि सो स्विकृतिको प्रमाणपत्र नेपालमा कामको करार गर्ने व्यक्तिलाई पठाइने र सो  प्रमाणपत्र, पासपोर्ट र अन्य आवश्यक कागजपत्रहरु जापानको राजदुतावासमा पेश गरी भिसा छाप लागे पछी जापान आउन सकिने छ। तर माथि उल्लेख गरेजस्तै नेपाल जापान बिचको व्दिपक्षिय सम्झौता अनुसार नेपाल सरकारले छनौट प्रक्रियामा केहि परिवर्तन गर्न सक्ने भएकोले वैदेशिक रोजगार विभागको आधिकारिक सूचना भने पछ्याइरहनुपर्ने हुन्छ।

जापान आएपछि

जापान ओर्ल्हने एअरपोर्टमा ‘रेजिडेन्ट कार्ड’ दिइने उल्लेख छ (दिन नमिलेमा पछि घरको ठेगानामा पठाइने भन्ने उल्लेख पनि भएकोले सो कार्ड नदिइएमा सो सम्बन्धि जानकारी दिइने अपेक्षा गरिन्छ)।

जापान पुगेपछि कामदारहरु लिने सम्बन्धित संस्थाले निम्न काममा मदत गर्ने छन।

  • एअरपोर्टबाट सम्बन्धित ठाउँमा लैजाने
  • जापानको रहनसहन सम्बन्धि जानकारी दिने ‘ओरिएन्टेसन’ कार्यक्रम गर्ने
  • तलब बैंकमार्फत जम्मा हुने भएकोले बैंकमा खाता खोल्न सहायता गर्ने
  • घर भाडामा लिने सम्बन्धि सहायता गर्ने, एवं
  • घर भएको स्थानिय निकाय (नगरपालिका वा वार्ड कार्यालय) मा दर्ता गर्ने आदि।

जापान भित्रका रहनसहन, सुरक्षा आदिको सम्बन्धमा संसारकै राम्रो मध्येमा पर्ने मानिएकोले स्थानिय चालचलन, बस एवं ट्रेनमा चढ्ने, मानिसलाइ काम गर्ने सघाउन राखिएका टिकट मेशिनहरु चलाउने आदीका साधरण ज्ञान सिक्नु बाहेक नेपालबाट आउँदा खासै गाह्रो पर्दैन। बिजुली, पानी, ग्यास सबै घरमा जोडिएको हुने भएकाले त्यसको पछि दौडिनु पनि पर्दैन। अनि सो सम्बन्धि बिलहरु पनि नजिकका कन्भिनियन्ट स्टोरबाट वा बैंक खाताबाट तिर्ने चलन भएकाले खासै ठुलो समय खर्चनु पर्दैन। आम्दानी खर्चका कुरा गर्दा, तलब बैंकमार्फत जम्मा हुने र बिमा एवं करहरु श्रोतबाटै काटिने भएकोले खासै सोच्ने ठाउँ छैन (यानेकि तिर्न नपर्ने अथवा बढि काट्ने आदि हुंदैन)। बीमा नगरि नहुने र लागेको ३० प्रतिशत तिरेर सेवा लिनुपर्ने भएकोले साधारण खर्चमा उपचार गर्न सम्भव हुन्छ। ठुलो रोग अथवा दुर्घटना आदिको पनि साधारणतया बिमा गरिएको हुन्छ तर सबै खालका बीमाहरु अनिवार्य नभएकाले व्यक्तिगत रुपमा चेक भने गर्नुपर्छ। तलव धेरै देखिएपनि खर्चपनि त्यतिनै धेरै (उदाहरणको लागि, घरभाडा ४०-५० हजार, चामल कम्तिमा पनि ४ सय प्रतिकिलो, काउली ४-५ सय एन प्रतिकिलो सम्म) हुने हुनाले तलव रकम सबै आम्दानीमा भने जाने छैन। नयाँ नियम नबनेमा पेन्सनको रकम पनि तिर्नु पर्ने नै देखिन्छ। केहि रकम जापान छोड्ने बेलामा फिर्ता दिने व्यवस्था भने पाइन्छ।

जापानमा यसअघि तालिममा आई सो तालिम सकिएपछी काम गर्ने विदेशी व्यक्तिहरुलाइ काम लगाउने संस्था एवं व्यक्तिहरुले थोरै तलव दिएर ठगि गरेको थाहा भएकोले देशविदेशबाट निकै भर्त्सना भएको थियो। यो भिसा जारी गर्दा भने जापान सरकारले त्यस्ता अनियमिताहरु रोक्न निकै निगरानी बढाएको जस्तो बुझिन्छ। काम परिवर्तनका सन्दर्भमा सल्लाह एवं गुनासो सुन्ने केन्द्रहरु पनि देशका बिभिन्न ठाउँमा खोलिएका र ‘सेवाको लागि दर्ता हुने संस्था’ हरुले पनि यि काम गर्ने भएकोले आइन्दा त्यस्तो नहुने अपेक्षा गर्न सकिने भएपनि सजग भने भइरहंदा राम्रो हुन्छ।

हाल कामदारको लागि भाषाको दक्षता धेरै नखोजेपनि जापानमा लामो समय काम गर्ने सोचाइ हुने व्यक्तिहरुले भने माथिल्लो तहको ज्ञान लिनु धेरै राम्रो हुन्छ। हुन त यहाँको सरकारले नै कामदारहरुको लागि जापानिज भाषा सिक्न मिल्ने ठाउँहरु व्यवस्था गर्ने भनेकोले जापान आइसकेपछि पनि भाषा सुधार्ने मौकाको आशा गर्न सकिन्छ। जे होस, कामदार नपुग्ने कारणले आउँदा दिनहरुमा जापानको विदेशी कामदार लिने नीति अझै खुकुलो हुने सम्भावना भएको र दक्षता बढाई ‘विशेष दक्ष २’ तहमा जान मिल्ने भएकोले पनि भाषाको ज्ञान धेरै महत्वपुर्ण हुने कुरामा शंका रहँदैन।

अन्त्यमा, जापान जतिसुकै विकसित भएपनि तथा जतिनै सुबिधा दिने भएपनि, योग्यताको कुनै जरुरी नै नभएको यो ‘विशेष दक्ष १’ भिसाको लागि निवेदन गर्ने बेलामा काम गाह्रो हुनसक्ने अथवा धेरै समय खट्नुपर्ने कुरालाइ मध्यनजर राखेर निर्णय भने अवश्य गर्नुपर्ला।

-लेखक  डा. तारा निधि लोहनी  जापानको कोबे  यूनिवर्सिटी  कार्यरत हुनुहुन्छ

 

 

 

 

 

Leave a Reply

Top