स्वीकार छ मलाई साहित्य August 9, 2021 -जावेद आलम खान दिल्ली, भारत तिमीभित्र चुम्बकका पूरै गुण थिए केवल मभित्रको मैन कहिल्यै फलाम बन्न सकेन तान्ने अनेकौं कोसिसमा पग्लिरहेँ आफ्नै आगोमा जलिरहेँ प्रकाशित गरिरहेँ नदीको पानीलाई बाटो देखाइरहेँ माझीलाई बर्सातका रातमा झुप्रोको सानो झ्यालबाट चियाउने बेसुद आँखामा भरिरहेँ आशाको शृङ्गार ! मबाट निस्किएका हरेक कुराको गन्तव्य तिमी नै त थियौ मेरो मुखबाट निस्किएका हरेक शब्दको यात्रा तिमीमै समाप्त हुन्थ्यो मेरो अनुभूति, मेरो विश्वास मेरो कुन्ठा, मेरो पराजय तिमी सबै कुरालाई तानिरह्यौ आफूमै जसरी धर्तीले सोस्छ बाढीको पानी ! सूर्यको अतिरिक्त ताप अनि जीवनको सम्पूर्ण भार धर्तीजस्तै असीम क्षमता थियो तिमीमा वेदना तान्ने अनि सिञ्चने आकाश बन्ने आफ्नो पूरा छट्पटाहटका साथ म झन् झन् पुड्को हुँदै गएँ तिम्रो धर्यताको विपरीत मलाई घमण्ड थियो आफ्नो व्यापकत्वको आफ्ना सम्पूर्ण असफलताका साथ तिमीमा बिछ्याइरहेँ अनि तिमी मेरा सारा पीडा हटाइरह्यौ तिमी मलाई बोलाइरह्यौ स्वयंलाई समेटिदिनका लागि अनि म आकाश बनेको दम्भमा पूरा जीवन दूरी बनाइरहेँ आकाश बन्ने क्रममा त्रिशङ्कु जसरी झुन्डिरहेँ आफ्नै कुन्ठामा घाँडो जसरी बजिरहेँ । हिन्दीबाट अनुवाद: सुमी लोहनी भाटभटेनी, काठमाडौँ