You are here
Home > खुसी बाँडे खुसी बढ्छ > अन्तरआत्मासँग जोडिने सन्देश: ओसाकामा विशेष प्रशिक्षण कार्यक्रम

अन्तरआत्मासँग जोडिने सन्देश: ओसाकामा विशेष प्रशिक्षण कार्यक्रम

-ओसाका, जापान

बिहुँकोट समाज जापान कान्साईको आयोजनामा ओसाकामा मानसिक स्वास्थ्य तथा ध्यानसम्बन्धी प्रेरणादायी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। ‘आफ्नो अन्तरआत्मासँग जोडिँदै उज्ज्वल भविष्यतर्फ अघि बढ्दै’ भन्ने मूल नारासहित अबेनो सिमिन गाकुशु सेन्टरमा आयोजित कार्यक्रममा प्रसिद्ध मानसिक स्वास्थ्य प्रशिक्षक एवं उत्प्रेरक गिरी बहादुर सुनारले प्रशिक्षण दिनुभएको थियो।

उक्त कार्यक्रममा विद्यार्थी तथा कामकाजी जीवनमा आइपर्ने तनाव व्यवस्थापन, व्यावहारिक आत्मचिन्तन र निर्देशित ध्यानमार्फत जीवनमा सकारात्मक परिवर्तन कसरी ल्याउन सकिन्छ भन्ने विषयमा प्रयोगात्मक अभ्यास गराइएको थियो। सहभागीहरूले “म को हुँ?” भन्ने आइसब्रेक गतिविधि तथा ऊर्जा सत्रमार्फत आफूलाई भित्री रूपमा चिन्ने अवसर प्राप्त गरेका थिए।

संस्थाका अध्यक्ष लक्ष्मण न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा इन्द्रलाल सुवेदीको उपस्थिति रहेको थियो। कार्यक्रममा एनआरएनए कान्साईका संयोजक भीम श्रीस र समाजका महासचिव बलबहादुर कँडेल क्षेत्री (मुकेश)ले शुभकामना मन्तव्य राख्दै प्रवासको व्यस्त र सकसपूर्ण जीवनशैलीका बीच यस्ता आध्यात्मिक एवं प्रेरणादायी कार्यक्रमले नेपाली समुदायको मानसिक सबलीकरणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।  कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मण कंडेलले स्वागत मन्तव्य र कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव कृष्ण कँडेलले  गर्नुभएको थियो।

वैदेशिक रोजगारी र अध्ययनका क्रममा जापानमा रहेका नेपालीहरूलाई भावनात्मक रूपमा बलियो बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले सहभागीहरूमा नयाँ ऊर्जा र सकारात्मक सोचको सञ्चार गराएको आयोजकले जनाएको छ।

Leave a Reply

Top