You are here
Home > साहित्य > खण्ड-खण्ड अस्तित्व

खण्ड-खण्ड अस्तित्व

-राजकुमार जैन ‘राजन’

राजस्थान, भारत

 

मरिसकेका कति सम्बन्धलाई

बोकिरहेको छु वर्षौँदेखि

नातागोतामा फैलिएको विषलाई

अमृत बनाउने चाहना लिएर

छातीका घाउले

सपनामा पनि झस्काउँछन्

जब मनको पीडा आँसु बनेर

आँखाबाट छल्किन्छ

वेदना थकित सास जसरी चल्छ

मेरा हरेक अनुभूति, इच्छाको

भैरह्यो अग्नि-परीक्षा

इष्टमित्रबाट पाएको विषलाई

पिउने कोसिस गरेँ

सुखको जुन धागो बाँधिएको थियो जीवनमा

रेसा रेसा टुक्रिँदै, फुस्किँदै गयो

समयसँगै

सन्दर्भ पनि बदलियो

शून्य बाटो, अँध्यारा दिशा

लक्ष्यको मार्ग कठिन हुँदै गयो

मेरो सम्पूर्ण व्यक्तित्वको लगाम

कहिले मेरो हातबाट फुत्कियो

पत्तै भएन

मेरो अस्तित्व साइनुलाई बोक्दाबोक्दै

खण्ड-खण्ड भयो

अचानक निभेको बत्तीको उच्छवासले

आफ्नो नियतिमा चुकेका प्रश्न चिन्हले

आफू हुनुको आभास भयो

अभिलाषाहरु नयाँ सूर्यको खोजीमा

प्रज्ज्वलित हुन थाले

मेरा असफल चाहना

आफ्नो दृष्टिमा उज्यालो भरेर

सलबलाउन थाले

गन्तव्यको बाटो स्वयम् प्रकाशित हुन थाल्यो

अनि

गोरेटा स्वयम् लक्ष्यलाई चुम्न थाले ।

 

हिन्दीबाट अनुवाद: सुमी लोहनी

                              काठमाडौं, नेपाल

 

Leave a Reply

Top