You are here
Home > साहित्य > तिमी तिमी नै भएर बाँच, म मै भएर बाँच्छु

तिमी तिमी नै भएर बाँच, म मै भएर बाँच्छु

ध्रुवकुमार सापकोटा

 

तिमी तिमी नै भएर बाँच

म मै भएर बाँच्छु

 

तिमी तिमी नै भएर बाँच

म मै भएर बाँच्छु

तिमी तिमी हौ

म मै हुँ

तिम्रो आफ्नै गीत होला

आफ्नै प्रीत होला

मेरो अलग हुनसक्छ

तिमी आफ्नै गीत गाऊ

आफ्नै कथा सुनाऊ

तिम्रा गीतहरुमा नबाँध

तिम्रो कथामा नसमेट मलाई

तिमी आफ्नै खुसीमा हाँस

आफ्नै डम्फुमा नाच

आफ्नै पीडामा रोऊ

मेरा आफ्नै खुसी होलान्

आफ्नै पीडा होलान्

मलाई तिमीमा ढाल्ने कोसिस नगर

तिम्रो आफ्नै दर्शन होला

आफ्नै लक्ष्य होला

आफ्नै गन्तव्य होला

मेरो अलग हुनसक्छ

मलाई मेरै बाटो हिँड्न देऊ

तिमी तिम्रै पानी खाऊ

तिम्रै हावामा सास फेर

तिमी तिम्रै खोलो तर

तिम्रै पहाड चढ

तिमी तिम्रै आकाशमा हराऊ

तिम्रै बस्तीमा रमाऊ

मलाई छाडिदेऊ

मलाई नसमाऊ

तिमी केवल तिमी नै भएर बाँच

म मै भएर बाँच्छु

किनकि

तिमी फगत तिमी हौ

म फगत मै हुँ ।

             निदरल्यान्ड्स

 

Leave a Reply

Top