छैमले ट्यालेण्ट शो सिजन टु पुस २४ गतेबाट मनोरञ्जन समाचार January 8, 2024 दक्षिणकाली नगरपालिका ८ नं वडा कार्यालय र दीपश्री क्रिएटिभ मिडियाको समन्वयमा छैमले ट्यालेण्ट शो सिजन टु यहि पुस २४ गतेबाट हुने भएको छ । आज भएको उद्घाटन सत्रमा बोल्दै वडा नं ८ का अध्यक्ष योस कुमार वाइवाले विद्यार्थीहरुको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउने उदेश्यका साथ यो ट्यालेण्ट शो आयोजना गरिएको बताउनु भयो । पढाईसँगै विद्यार्थीको क्षमतावृद्धि विकास गर्न वडाले पछिल्लो समयदेखी विभिन्न शिप विकास, क्षमता विकास, शैक्षिक गुणस्तरका कार्यक्रमहरु संचालन गर्दै आइरहेको अध्यक्ष वाइवाले जानकारी गराउनु भयो । गत वर्ष संचालित छैमले ट्यालेण्ट शो को प्रयोगात्मक अभ्यासले विद्यार्थीहरुमा उत्साह थपिनुका साथै राम्रो प्रतिभाको मञ्च स्थापित हुने सकेकाले यस बर्षबाट वडा ८ भित्र मात्र नभई समग्र दक्षिणकाली नगरपालिका भित्र रहेका सामुदायिक तथा सस्थागत माध्यमिक विद्यालय र आयोजक वडाका २ वटा आधारभूत विद्यालयलाई समेटी छैमले ट्यालेण्ट शो सिजन टु संचालन गर्न लागिरहेको छैमले ट्यालेण्ट शोका परिकल्पनाकार तथा प्रमुख सल्लाहकार सञ्जय लामा उर्गेनले बताउनु भयो । विगतको बर्ष संचालित ट्यालेण्ट शो लाई निरन्तरता दिन सफल भएकोमा आफु निक्कै हर्षित हुनुका साथै क्षमता विकास सम्बन्धी यि यस्ता कार्यक्रमले भविष्यको सपनालाई साकार पार्न निक्कै सहयोग पुग्ने निर्णायक विरेन्द्र कुमार बलामी ले उल्लेख गर्नु भयो । कार्यक्रमको विषयवस्तुमा थप गर्दै अर्का निर्णायक रिता बलामिले यस्तो कार्यक्रम निरन्तर रुपमा संचालन हुन पर्नेमा जोड दिनु भयो । विगतको बर्षमा संचालन गरिएको ट्यालेण्ट शो भन्दा यस बर्ष केहि फरक ढंगले संचालन गर्ने तयारी गरिरहेको दीपश्री गु्रपका अध्यक्ष दिपक लामिछानेले बताउनु भयो । १६ दिन सम्म प्रशिक्षण गरिने उक्त ट्यालेण्ट शो मा व्यक्तित्व विकास, लेखन शैली, उद्घोषण कला, वाक्कला, र्याम्प वाक, हाइकिङ, जेष्ठ आमा बुबासँग १ दिन, जनप्रतिनिधीसँग बालबालिका अन्तरक्रिया, खेलकुद, फुटसल लगायतको कार्यक्रम रहने छ । उक्त ट्यालेण्ट शो को विजेताले नगद पच्चिस हजार, फस्ट रनरअफ विजेताले पन्ध्रहजार र सेकेण्ड रनरअफ विजेताले दश हजार सहित प्रमाणपत्र, मेडल, सिल्ड प्राप्त गर्ने छन् । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र प्रतियोगितामा सहभागी विद्यार्थीहरुको उपस्थिती रहेको थियो । उद्घाटन सत्र दक्षिणकाली नगरपालिका वडा नं ८ भित्र रहेको छैमले रिसोर्टको सभाहलमा संचालन गरिएको थियो । तालिम फर्पिङ्ग पार्टि प्यालेसमा संचालन गरिने छ ।