You are here
Home > साहित्य > किनारमा उभिएकी स्त्री

किनारमा उभिएकी स्त्री

          -आरती तिवारी              

 

स्त्री कविताभित्र पस्दिन

हेर्छे टाढैबाट, चुपचाप

आफ्ना लागि लेखिएका

कविता, कविता भएको ।

समयको सडकमा हिँड्दाहिँड्दै

कामको भारीले थिचिएकी ऊ

आरामको गोरेटोमा

मस्त निदाएर सुस्ताउन चाहन्छे

तर कर्तव्यको कोर्राले

नीलो डँडाल्नु भएर …

उसलाई फेरि धकेलिदिन्छ

त्यही निष्ठुरी चीत्कार भरिएको

निर्दयी नीरवतामा ।

मोहजालमा फसाएर

गरिन्छ महँगो भाउमा

उसको मुस्कानको व्यापार

ऊ महसुस हुनै कहाँ दिन्छे र

आफू ठगिएको ।

बहुरुपी छद्य हाँसोले

युगौँदेखि लोभ्याउँदै आई संसारलाई

उबडखाबड चौबाटोमा

हिँड्दा पनि

बुझ्छे छल, आडम्बर

मित्रताको आडमा भएको घात पनि

तर नदेखे जसरी बढ्छे अगाडि

जिउँछे कवितालाई , केवल कवितामा स्त्री

टाढैबाट चुपचाप, विना आहट ।

हिन्दीबाट अनुवादः सुमी लोहनी

 

 

Leave a Reply

Top