You are here
Home > प्रवास > जापानको औपचारिक भ्रमणमा राष्ट्रपति रामचन्द्र पौडेल

जापानको औपचारिक भ्रमणमा राष्ट्रपति रामचन्द्र पौडेल

-पुरुषोत्तम लामिछाने

ओसाका, जापान — राष्ट्रपति रामचन्द्र पौडेल जापान सरकारको निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि जापान आउनुभएको छ। उहाँ प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन जापान आउनुभएको हो।

राष्ट्रपति पौडेललाई टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानका विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा तथा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरेका थिए।

उच्चस्तरीय भेटवार्ता र समारोह

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ १९ गते सोमबार जापान सरकारले आयोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ।

त्यसैगरी माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट हुने कार्यक्रम तय भएको छ। सोही दिन जापानका प्रधानमन्त्री ताकाइची सानाएसँग भेटवार्ता तथा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि शिष्टाचार भेटवार्ता हुने कार्यक्रम रहेको छ।

नेपाली समुदाय र व्यावसायिक क्षेत्रसँग अन्तरक्रिया

भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। साथै, जापानस्थित नेपाली राजदूतावासले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि उहाँ सहभागी हुनुहुने राष्ट्रपति सचिवालयले जनाएको छ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध

नेपाल र जापानबीच सन् १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसपछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौँमा आफ्ना दूतावास स्थापना गरेका थिए।

राष्ट्रपति पौडेल माघ १८ गते आइतबार राति नेपालबाट प्रस्थान गर्नुभएको थियो भने चारदिने औपचारिक भ्रमण सम्पन्न गरी माघ २१ गते बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Leave a Reply

Top