You are here
Home > समाचार > रजनी खत्रीको “पीडामा सुख” कवितासङ्ग्रह विमोचन

रजनी खत्रीको “पीडामा सुख” कवितासङ्ग्रह विमोचन

२०७८ भाद्र १० गते, बिहिबार 
हिजो सुसेली साहित्यिक प्रतिष्ठान, फर्पिङले रजनी खत्रीको “पीडामा सुख” कवितासङ्ग्रह विमोचन गरेको खबर छ । यस सङ्ग्रहको विमोचन दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतबाट भएको थियो । विमोचनका क्रममा बस्नेतले दक्षिणकाली नगरपालिकामा छिट्टै साहित्य, धर्म, संस्कृति, कलाको विकास गर्न नगरको मातहतमा प्रज्ञा प्रतिष्ठान बनाउने कुरा व्यक्त गर्नुभएको छ ।
विमोचित कवितासङ्ग्रहको समीक्षा कवि तथा समीक्षक रामकाजी बस्नेतले गर्नुभएको थियो । समीक्षाका क्रममा उहाँले सङ्ग्रहभित्रका कविताले व्यक्ति, समाज र राष्ट्रको पीडा बोकेको कुरा बताउनुभएको थियो । कार्यक्रममा उपस्थित कवि कृष्णकुमार श्रेष्ठ, रमेश बलामी, लीला बस्नेत र रामकुमार बस्नेतले विमोचित कृतिका कविता वाचन गरेका थिए । उक्त कार्यक्रममा सेतीदेवी माविका प्रधानाध्यापक रामकुमार बस्नेत, गजलकार अञ्चल बान्तवा, गजेन्द्र बस्नेत, बद्री कार्की, चन्द्रकला बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका संरक्षक शेखरकुमार श्रेष्ठले नगर प्रमुखसमक्ष नगरमा प्रज्ञा प्रतिष्ठानको आवश्यक रहेको कुरा गरेका थिए । कोरोना सङ्क्रमणको उच्च जोखिम भएका कारण उक्त कार्यक्रममा स्थानीय साहित्यकार सुशान्त केसी, रामराजा केसीलगायत चालिस जना स्थानीय साहित्यप्रेमीको उपस्थिति थियो । उक्त कार्यक्रमको प्रारम्भ सरिता बलामीको स्वागत मन्तव्यबाट भएको थियो भने कार्यक्रम सञ्चालन अप्सरा भुर्तेलले गरेका थिए ।
सुसेली साहित्यिक प्रतिष्ठानका अध्यक्ष आवेश मिश्रको अध्यक्षतामा विमोचन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा भौतिक दूरी र सुरक्षालाई उच्च सतर्कताका रूपमा हेरिएको थियो ।

Leave a Reply

Top