You are here
Home > प्रवास > बागलुङको गलकोट दुदिलाभाटीका राजेश बिकलाई ५ लाख बढि आर्थिक सहयोग हस्तान्तरण

बागलुङको गलकोट दुदिलाभाटीका राजेश बिकलाई ५ लाख बढि आर्थिक सहयोग हस्तान्तरण

निमोनिया र बाथ रोगले पीडित बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीका राजेश बिकलाई ५ लाख बढि आर्थिक सहयोग हस्तान्तरण गरिएको गरिएको छ ।

जापानमा कार्यरत बागलुङको गलकोटवासी र नेपालका बिभिन्न ठाउँमा रहेका व्यक्तिहरुको सहयोगमा संकलित ५ लाख ६८ हजार ७ सय ८५ रुपैया राजेश बिकलाई प्राप्त भएको हो। सो अवसरमा स्थानीय बिनोद कार्कीको नेतृत्वमा संकलित १४ हजार ९ सय ४६ र डायनामिक स्पोट क्लव झाक्रिस्थानबाट प्राप्त ४ हजार ५ सय रुपैयाँ पनि पीडित बिकलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै हस्तान्तरण गरिएको थियो ।जापानमा रहेर सहयोग संकलनका लागि कमल कार्की, मिलन केसी, निमबहादुर खड्का, तारा खत्री तेजु, मेघराज रिश्मेली, लक्षुमण कार्की, मिनबहादुर खत्री, नेत्र थापा, तारा केसी थापा, याम बिक र कृष्ण खत्रीले पहल गर्नु भएको थियो ।

सेवा नै धर्म हो भन्ने नाराका साथ जापानको बिभिन्न ठाउँमा कार्यरत गलकोटवासी र नेपालमा रहेका बिभिन्न जिल्लाका व्यक्तिहरुको सक्रियतामा संकलित उक्त रकम पीडित बिकको घरमै पुगेर हस्तान्तरण गरिएको थियो । उक्त रकम सहयोग संकलन अभियानमा सक्रिय जापानमा कार्यरत कमलबहादुर कार्कीको छोरा यामबहादुर कार्की, मिलन केसीको बुवा जगतबहादुर खत्री र गल्कोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष नेत्र बुढाथोकीले हस्तान्तरण गर्नु भएको थियो ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै गलकोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष नेत्र बुढाथोकीले एउटा जुझारु युवा राजेश बिकको समस्या सवैको समस्या भएकाले उनको स्वास्थ्य लाभको कामना गर्दै प्रदान गरिएको सहयोग रकमको सहि सदुपयोग हुन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रम सहयोग दाता एवं धौलागिरि एफ एम बागलुङका सम्पादक ताराप्रसाद शर्माले पनि मंतव्य व्यक्त गर्नु भएको थियो । पीडित बिकका बुवा मनबहादुर बिकले सहयोग दाताहरुलाई धन्यावाद ज्ञापन गर्नु भएको थियो ।

बाथ रोग र निमोनिया कारण बिकको शरीर नचल्ने अवस्था भएपछि उपचारका लागि परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गरिएको अभियान्ता कमलबहादुर कार्कीले बताउनुभयो ।

उहाँले जापान लगाएत नेपालको चितवन, पोखरा, पर्वत म्याग्दी, बागलुङका व्यक्तिहरुबाट पनि सहयोग प्राप्त भएको बताउनुभयो । कार्यक्रम स्थानीय मिलिजुली आमा समुहका अध्यक्ष हिरादेवि परियारको अध्यक्षता र चौराह माविका शिक्षक नरबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Top