कोपिलाडाली कविता साहित्य October 20, 2021 -गिरिराज डल्लाकोटी १. पछिसम्म के के हुने हो आमा दैलोठेलामा बाबा सधैं मेलामा विदेशमा कति रुने हो २. खेतबारी बाँझै पारेर जोरीपारी हाँस्दा हुन् आलीआँठा मास्दा हुन् लुकी लुकी साँझै पारेर ३. चुहिएको छानो उस्तै छ छिमेकीले ठोके टिन आफ्नो भने रिनैरिन घर पनि सानो उस्तै छ ४. पैसा फल्ने बुटो रैनछ बुढापाका भन्दैथे आफ्नै बारी खन्दैथे साँच्चै रैछ झूटो रैनछ ५. सन्तोषको नामै भएन छोराछोरी नाङ्गा छन् इष्टमित्र बाङ्गा छन् विदेश आएँ कामै भएन चितवन