शिष्ट मुखौटाहरु कविता साहित्य September 30, 2021 –दुर्गा वनवासी सानी छँदा हजुरबाले गालामा दलेका खस्रा दाह्रीहरुसँगै खुब निस्सासिन्थें आमा ! हजुरहरुले त्यो स्पर्शमा अगाध वात्सल्य देखिरहँदा मलाई भने खै, कस्तो कस्तो उकुसमुकुस भएर आउँथ्यो बिल्कुलै संवेदनाशून्य कलिला चल्ला झम्टिने हिंस्रक, निर्दयी बाजजस्तो खस्रो, कर्कश स्पर्श बुझ्नै सक्तैनथें आमा ! किशोर वयमा नैतिक शिक्षा पढाउने गुरुका तिखा आँखा र छरिता हातहरुले उसैगरी अत्याउने गर्थे हजुरहरुको उपस्थितिमा शिरमाथि आशीर्वाद दिने ती ‘आदर्श’ हात ट्युसन कोठामा अचानक ‘आक्रामक’ बनेर खै, कसरी चिप्लिन्थे र तल तल सर्थे सोच्नै सक्तैनथें आमा ! विवाहको प्रथम रात मध्यराति नशामै निजी सम्पत्ति झैँ मेरो तनमा एकछत्र पतिदेवको राज चलिरहँदा सहयात्राका सपना र रहर दुबै एकसाथ भत्किएथे शरीरभन्दा धेरै गुना मन दुखेको थियो भन्नै सक्तैनथें आमा ! उसैमाथि दुर्भाग्यवस अचानक असमयै लागेको वैधव्यको चोटमा ‘पति टोकुवी’ र ‘अलच्छिनी’ उपनामका नुनचुकहरुले पटक पटक रक्ताम्य हुँदै घाउ थाक्नै पाएन कहिले सुनाउनै सक्तैनथें आमा ! सासू, नन्द र आफन्तका शब्दशूलहरुले भन्दा ज्यादा रगतपच्छे हुन्छ अचेल हृदय बुढो तन र तन्नेरी मनका ससुरा बाका उन्मत्त र अमर्यादित आँखाहरुले डामिएर बताउनै सक्तिन आमा ! हिजोआज सासूआमाको केहीबेरकै अनुपस्थिति साँच्चै धेरै अत्याउँछ आमा ! संस्कारको नाममा सभ्य मुखौटाहरुमाझ यो पक्षपाती सहनशीलता कहिलेसम्म आमा ? भन न आमा ! झापा हाल काठमाडौं