के फाइदा ? कथा साहित्य September 27, 2021 – बैद्यनाथ ठाकुर लगातार सातौंपटक नेपाल मेडिकल एसोसिएसनको परीक्षा फेल भएपछि डा. रितिककी आमाले श्रीमान्लाई भनिन्- ‘मैले पहिले नै भनेको थिएँ । बाबुको पढाइलेखाइ निकै कम्जोर छ भन्दा मान्नुभएन । एसएलसी परीक्षामा हजुरले आफ्नो पदको दुरुपयोग गरेर उत्कृष्ट श्रेणीमा पास गराउनुभयो । फेरि आईएस्सी भारतबाट पैसाको बलले अठहत्तर प्रतिशत अङ्क ल्याएको प्रमाणपत्र किन्नुभयो र मोटो रकम डोनेसन दिएर मेडिकल कलेजमा पढाउनुभयो । त्यहाँ पनि पुनः पैसाकै बलमा गोल्ड मेडल दिलाएर डाक्टर बनाउनुभयो । अव एनएमसीको परीक्षा पास गराउन पनि कुनै चमत्कार गर्नुस् ता कि छोरोमा गरेको लगानी ब्याजसहित असुल्न पाइयोस् ।’ श्रीमतीको कुरा सुनेर श्रीमान्ले भन्नुभयो- ‘हेर, सरकारी स्कुलको एउटा जाबो हेडमास्टर भएर मैले आफ्नो छोरालाई स्कुलदेखि डाक्टर बनाउनेसम्म धेरै पापड बेलेको छु अर्थात् पूरै इमान बेचेको छु । तर के गर्ने ? एउटा पागल मान्छेले गर्दा अहिले मेडिकल लाइन सबैभन्दा कडा भएको छ । मलाई यति वेलासम्म संरक्षण गर्ने सरले पनि अहिले नै अवकाश पाए । छोरोको कुरै छोड, अव त अख्तियारबाट मलाई नै जोगाउने कोही छैन । तिमीहरु धेरै नफुर्क । हुन सक्छ मेरो बाँकी जीवन जेलमा बितोस् । अहिले म आफैं विचार गर्दै छु – जीवनभर विद्यालयमा गरेको भ्रष्टाचारबाट आखिर के फाइदा भयो त ?’ प्रगति नगर -३, वीरगन्ज