You are here
Home > साहित्य > कथा > पोइला भगाउने इच्छा

पोइला भगाउने इच्छा

ध्रुवकुमार सापकोटा

म आफूलाई निकै भाग्यशाली ठान्छु । जिन्दगीमा चाहना गरेको जति झन्डै झन्डै सबै नै पुग्या छ । धेरै कुराको अनुभव गरियो । कहिलेकाहीँ म सोच्ने गर्थेँ, ‘अर्काकी स्वास्नी भगाउनुको मजा कस्तो होला ? त्यो पनि एक पटक अनुभव गर्न पाए हुन्थ्यो …।’

म धेरै फुर्सदी मानिस, दिनभरि फेसबुक चलाएर बस्ने । धेरै केटी, महिलाहरुसँग फ्लर्ट पनि गरियो , कतिसँग यही माध्यमद्वारा भेटेर रोमान्स पनि गरियो ।

यस्तैमा एक जना महिलासँग निकै नजिक हुन पुगें । उनको लोग्नेको नजर बचाएर उनी मलाई भेट्न आउँथिन् । कहिले धुलिखेल, कहिले नगरकोट कहिले पोखरासम्म जान भ्याइयो उनीसँग ! राम्री थिइन्, उनी कुरा गराइबाट सत्य बोल्छिन् जस्तो लाग्थ्यो । उनी भन्ने गर्थिन्,  ‘लोग्नेले माया नै गर्दैन । रक्सी खाएर आउँछ, मलाई पिट्छ । एक नम्बरको पाखे छ हेर्दाखेरी’ … आदि आदि ।

म सोच्ने गर्थेँ, ‘ए, बिचरी ! पीडित रहिछन् , यस्तीलाई भगाएर ल्याउँदा त के पाप लाग्छ हौ, बरु धर्मै हुन्छ नि ! त्यो फटाहा लोग्नेसँगको नारकीय जीवनबाट मुक्ति मिल्छ ।’

यसरी हाम्रो सम्बन्ध आत्मिय मात्र हैन निकै गम्भीर भयो । म भन्ने गर्थेँ उनलाई, ‘हेर, त्यो तिमीलाई छोडपत्र गराउने, अदालत जाने यो सब झमेलामा म पर्न चाहन्न, म त जिन्दगीमा एड्वेन्चर मन पराउने मानिस हुँ, एड्वेन्चर ! मलाई अर्काकी स्वास्नी भगाउन नै मन छ ।  मलाई त्यो अनुभव गर्न मन छ । नेपालको कानुनमा पोइल गएको केही सजाय रहेनछ ।  मैले जारी तिर्नुपर्ने रैछ । त्यो नाथे २-४ हजार रुपैयाँ, तिरुँला न …!’

अव हाम्रो कुरा मिलिसकेको थियो । उनी मसँग पोइल आउन तयार !

यस्तैमा एक दिनको कुरा हो उनले भनिन्, ‘भोलि शनिवार, सँगै बसुन्जेल त गर्नै पर्‍यो ।  मेरो भोलि व्रत छ । पशुपति जाने कुरा छ, श्रीमान्सँग !  म बिहान ७ देखि अन्दाजि ९ बजेसम्म हजुरको कल र मेसेजको रिप्लाई गर्न सक्दिन ल !’

मलाई भने खुल्दुली भयो । कस्तो रहेछ त त्यो फटाहा लोग्ने ? बिहान ६:४५ देखि नै पशुपतिको मूलढोका अनि यता उता ढुकेर बसें। करिब ७:१५ तिर उनी देखा परिन्, एक जना मान्छेसँग थिइन् उनी ! उनको उमेरसँग तुलना गर्नुपर्दा ती मान्छे कता कता बुढो मानिस नै भन्न मिल्ने खालका थिए । उनी आफूलाई २६ वर्षकी भन्थिन् र त्यस्तै लाग्थिन् पनि ! ती मानिस ४५-५० का जस्ता देखिन्थे।

निधारमा चन्दनको टिका लगाएका, कुर्ता र धोती लगाएका, घाँटीमा रुद्राक्षको माला भिरेका । हेर्दैमा निकै धार्मिकजस्तो देखिन्थे ।

‘पहिले तिमी गएर आऊ अनि म जाउँला भित्र दर्शन गर्न ।’ भन्दै थिए, ‘ल्याउ, तिम्रो ब्याग,  त्यो तिम्रो मन परेको पेन्सिल हिल वाला स्यान्डिल लगाएर आउनपर्ने तिमीलाई मन्दिर आउँदा पनि,   मलाई देऊ, यहाँ चप्पल चोरको त कमी छैन ।  आफ्नै सामु भुइँमा राख्दासमेत चोरेर भाग्छन् ।’… हातमा लेडिज ब्याग, श्रीमतीका स्यान्डल अलिकति पनि लाज नमानी समातेर उभिए उनी ! म सोचिरहेको थिएँ, ‘कस्तो शालीन मान्छे, कतिले त उनलाई जोइटिङ्रे भन्दा हुन् … ।’

उनी बाहिर निस्किन् । म लुकेर अलि परबाट हेरीरहेको थिएँ । उनले देख्लिन् कि भन्ने डर थियो । अव उनी छिरे भित्र दर्शन गर्न । कानमा फूल सिउरेर, निधारमा ठाडो लामो टिका लगाएर निस्किए।

‘तिमीलाई भोक लाग्यो होला । हिँड केही खाऊँ’ … भन्दै थिए उनी । दुबैजना नजिकको चियाचमेना पसलमा छिरे । उनीहरु अगाडितिरको बेन्चमा बसे । म पछाडिको ढोकाबाट छिरेर सबभन्दा अन्तिमको बेन्चमा बसेँ । ग्राहकहरु खासै थिएनन् । उनले पछाडि फर्केर हेरेकी भए मलाई सिधै देख्ने थिइन् । जाडोको महिना मंकी क्याप लगाएको थिएँ अनि गलबन्दीले समेत मुख छोपेको थिएँ नचिनून् उनले भनेर । पछाडि फर्किनन् पनि , झन् ढुक्क मलाई !

उनले जेरी, स्वारी, तरकारी मगाए । उनी, ‘नाइँ, म त चिया मात्र खान्छु ।’ भन्दै थिन् । उनले अलि कडा शब्दमा माया देखाए,  ‘यो पनि खान्न, त्यो पनि खान्न भनेको छ । जहिले पनि व्रत भनेको छ, हेर त दुब्लाइसक्यौ । घाँटीको कुर्कुरे हाडसमेत देखिन थालेको छ, खुरुक्क खाऊ …।’

नास्ता खाने काम सकियो । उनले पैसा तिरे । उनी भन्दै थिए, ‘तिमीलाई आजै व्रतको दिन नै किन जानुपरेको माइती ?  कमजोर छ्यौ तिमी…!’

‘…हैन, मैले आज आउँछु भनेको छु । … म बस चढेर गैहाल्छु नि …!’

‘ हैन हैन, ट्याक्सीमा जानू,  घरकै अगाडि रोकाउनू, नहिन्नू ल …!’ हजारका दुईवटा नोट थमाउँदै उनले भने ।

ओहो ! निकै माया गर्दारहेछन् यिनी उनलाई । अघि भर्खरका कुराहरु मेरो आँखासामु नाच्न थाले – हातमा श्रीमतीको ब्याग, श्रीमतीको स्यान्डिल लिएर उभिएको मान्छे, नास्ता खाने बेलामा जिद्धी गरी गरी खाऊ भनेको अनि अहिले ट्याक्सीमा जाऊ, बसमा नजाऊ अनि ट्याक्सीबाट उत्रेर नहिँड्नू है ! भनेको …. । यो मान्छे कसरी खराब लोग्ने हुन सक्छ ? अव भने म भित्रभित्रै पग्लिसकेको थिएँ ।

लोग्ने वागमतीको किनारैकिनार लागे अनि उनी गौशालातिर लागिन् । मलाई कतिखेर उनलाई फोन गरुँ भएको थियो । हत्त न पत्त कल गरी हालेँ , कता … कसो … आदि ।

अनि मैले सोधेँ, ‘तिमीलाई लोग्नेले माया गर्दैन भन्थ्यौ …. मैले आज सबै देखेँ नि !’…. उनी केही बेर अक्क न बक्क भइन् ।

केही बेरको कुराकानी पछि उनले भनिन्, ‘माया त गर्छ तर पाखे छ …. बुढो छ….।’

‘ए…, भोलि म पनि बुढो भएपछि अर्कैलाई ताक्ने होला है तिमीले …!’

मलाई झनक्क्क रिस उठ्यो ।  फेसबुक खोलेँ र उनलाई ब्लक हानेँ अनि मेरो पालो मोबाईलबाट सिम झिकेर दाँतले चपाएँ केही बेर अनि फुत्त वागमतीको गन्धे पानीमा सेलाएँ ।

म गौशालातिर उकालो लाग्दै थिएँ । एउटी बाँदर्नीले एउटा बाँदरको जुम्रा हेर्दै थिई । बाँदर्नीको जिउमा झुन्डिएर बच्चाले दुध चुसिरहेको थियो ।

निदरल्यान्डस्

 

Leave a Reply

Top