You are here
Home > साहित्य > मान्छे मान्छेसँग डराउन नपरोस्

मान्छे मान्छेसँग डराउन नपरोस्

-इन्द्र कुमार श्रेष्ठ ‘सरित’

काम छैन, जिम्मेवारी छैन

फुर्सद नै फुर्सद छ

तर अरु वेला फुर्सद खोजिहिँड्ने यही मनलाई

किन यो फुर्सद मन पर्न छोडेको छ ?

मन पखेटा फिँजाएर

नील गगनमा उड्न लालायित भएको छ ।

 

पुग्नुपर्ने गन्तव्य कुनै छैन

तैपनि यो घेराबन्दी तोडेर

मन स्वतन्त्रताको गीत गाउँदै

खोलैखोला, वनपाखा र उद्यान घन्काउन

बेसकन छट्पटिएको छ ।

 

सुत्यो, उठ्यो, खायो, सुत्यो

आरामैआरामले पूरै शरीर थाकेको छ

कहाँ छ उज्यालो भनेर

अँध्यारोमा पनि आँखा चङ्खो छ

के के आइलाग्छ जिन्दगीमा

बहादुर यो जिन्दगीलाई सुरक्षाको हर्पेभित्र

लुकाउनुपरेको छ

आरामदायी बिछ्यौनाले घोच्नथालेको छ

पेटभरि डर भरिएर बान्ता हुन मात्र बाँकी छ

कहिले सकिन्छ यो डर ?

कहिले सकिन्छ यो आतङ्क ?

आशामाथि निराशा हाबी हुनथालेको छ

बनियो मनलाई पनि कमजोर बनाउनथालेको छ ।

 

ए अनिष्ट ! ए दुष्ट ! तँ पर जा

मानवबस्तीमा तँलाई देख्न नपरोस्

मान्छे मान्छेसँग डराउन नपरोस्

तेरै आतङ्क र आक्रमणमा परेर

अव कसैको आँखा आँसुले भिज्न नपरोस् ।

काठमाडौं

Leave a Reply

Top