कान्साईमा पहिलोपटक ‘नेफिन कल्चरल फेस्टिभल कान्साई २०२६’ आयोजना हुने प्रवास मनोरञ्जन July 8, 2026 ओसाका (जापान)। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) कान्साई जापानले कान्साईमा पहिलोपटक ‘नेफिन कल्चरल फेस्टिभल कान्साई २०२६’ आयोजना गर्ने भएको छ। आगामी सेप्टेम्बर १८ र १९ मा हुने महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले कार्यक्रमको औपचारिक घोषणा गरेको हो। पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा नेफिन कान्साई जापानका सल्लाहकार अमर लामाले नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषता भएको राष्ट्र भएकाले यही विविधता नेपालको मौलिक पहिचान र शक्ति भएको बताए। विदेशमा रहेका नेपाली समुदायले आफ्नो भाषा, संस्कृति, परम्परा, भेषभूषा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्दै आगामी पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने आवश्यकता उनले औँल्याए। आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य नेपालका आदिवासी जनजातिहरूको मौलिक कला, संस्कृति, भाषा, परम्परा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै नेपाल–जापानबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउनु र विदेशमा हुर्किरहेको नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्नु हो। दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपालका विभिन्न आदिवासी जनजातिहरूका सांस्कृतिक नृत्य, मौलिक संगीत, परम्परागत भेषभूषा, भाषा, हस्तकला, नेपाली तथा जातीय परिकार र नेपालको सांस्कृतिक विविधता झल्किने विभिन्न कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ। नेपाल आदिवासी जनजाति महासंघ जापान कान्साई समितिका संयोजक नरेन थापा मगरले महोत्सवमा नेपाली समुदायसँगै जापानी नागरिक, विभिन्न सामाजिक संघ–संस्था, कलाकार, व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा व्यक्त गरे। उनले यो महोत्सवले नेपाली समुदायबीच आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउनुका साथै जापानी समाजमा नेपालको समृद्ध सांस्कृतिक विविधता परिचित गराउने विश्वास व्यक्त गरे। पत्रकार सम्मेलनको अन्त्यमा आयोजकले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा सञ्चारमाध्यमप्रति आभार व्यक्त गर्दै जापानमा रहेका सम्पूर्ण नेपाली समुदाय, जापानी मित्रहरू, सामाजिक संघ–संस्था, कलाकार तथा सञ्चारकर्मीलाई महोत्सवमा सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा दिएको छ। आयोजकका अनुसार ‘नेफिन कल्चरल फेस्टिभल कान्साई २०२६’ जापानमा नेपाली आदिवासी जनजातिको भाषा, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ उजागर गर्ने ऐतिहासिक सांस्कृतिक महोत्सवका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।