You are here
Home > प्रवास > ओसाकामा नेपाली बाल-बालिकाहरूको लागि नमुना स्कूल सञ्चालन हुँदै।

ओसाकामा नेपाली बाल-बालिकाहरूको लागि नमुना स्कूल सञ्चालन हुँदै।

ओसाका ,जापान

के तपाईं आफ्नो बच्चाहरूलाई अंग्रेजी र नेपाली भाषामा सहजै बोलचाल गर्न सक्ने बनाउन चाहनुहुन्छ? के आफ्नो छोरा-छोरीहरूले उनीहरूको नियमित स्कूलको नतिजामा निरन्तर सुधार गर्दै जाउन भन्ने चाहनुहुन्छ? चाहनुहुन्छ भने, यीनै उदेश्यहरू राखेर ओसाकामा शाइन ब्रिज एकेडेमीको स्थापना भएको छ।

यही अप्रिल महिनाको १६ तारिख शनिवारबाट नियमित रूपमा अंग्रेजी र नेपाली भाषाको कक्षाहरूबाट सुरुवात गर्ने यस एकेडेमीले निकट भविष्यमा नै जापानीज स्कूलहरुमा नियमित पढाई हुने म्याथ, साइन्स, कोकुगो (जापानीज भाषा) लगायतका कक्षाहरू समेत उत्कृष्ट विषयगत शिक्षकहरूको व्यवस्था गरि सञ्चालन गर्ने लक्ष्य लिएको छ।

यस एकेडेमीका प्रमुख सञ्चालकहरूमा एभरेस्ट इन्टरनेशनल स्कूल टोकियोका संस्थापक प्रिन्सिपल तथा टोकियो स्थित हार्मोनी प्रि-स्कूल इन्टरनेशनल का C.E.O. प्रदिप थापा, कान्सेइ गाकुइन युनिभर्सिटीका सह-प्राध्यापक जीत सापकोटा र लामो समयदेखि जापानीज कम्पनीहरूको अनुभव बटुलेका तथा हाल टोयोटा कम्पनी अन्तर्गतको दाइहाच्चु मोटर्सका प्रोग्राम अफिसर दिलीप सुवेदी रहनुभएको जानकारी प्राप्त भएको छ।

सञ्चालकहरूको अनुसार यस एकेडेमीले निम्नलिखित लक्ष्य तथा उदेश्यहरू राखेको छ।
१. जापानीज स्कूलमा गइरहेका बाल-बालिकाहरूलाई उनीहरूको नियमित पढाइमा उत्कृष्ट नतिजा ल्याउन सक्षम बनाउने।
२. उनीहरूलाई अंग्रेजी भाषा सहजै लेख्न, पढ्न र बोल्न सक्ने बनाउने।
३. उनीहरूमा नेपाली भाषा संस्कृति र आफ्नो राष्ट्रिय पहिचान प्रति रुचि एवं सम्मान जगाउँदै नेपाली भाषा सजिलै लेख्न, पढ्न र बोल्न सक्ने बनाउने।
४. विद्यार्थी र अभिभावकहरूलाई सामूहिक रूपमा नेपाली तथा जापानीज चाड-पर्वहरू मनाउने व्यवस्था मिलाउने।
५. उल्लेखित उदेश्यहरू प्राप्तिको लागि अभिभावकहरू, बाल-बालिकाहरू पढ्न जाने जापानीज स्कूलहरू, स्थानीय निकायका शैक्षिक विभागहरू, शैक्षिक गैर सरकारी संस्थाहरू तथा अन्य सरोकारवालाहरू सँग समन्वय र सहकार्य गर्ने।
उल्लेखित उदेश्यहरूको साथ यस एकेडेमीले विद्यार्थीहरूको उत्कृष्ट शैक्षिक गुणस्तर शुरुबाटै सुनिश्चित गर्नको लागि अङ्रेजी र नेपाली भाषाको अनुभवी तथा क्षमतावान अमेरिकी र नेपाली नेटिभ शिक्षकहरूको व्यवस्था गरेको जानकारी संचालकहरुले गराउनुभएको छ।

बिद्यार्थी भर्ना व्यापक रूपमा चलिरहेको यस एकेडेमीले यही अप्रिल २ शनिवारको दिन ३ बजे देखि ५ बजेसम्म ओसाकाको नान्बामा एक बृहद अभिभावक भेला आयोजना गर्न गइरहेको छ। उक्त कार्यक्रममा एकेडेमीले प्रयोग गर्ने पाठ्यक्रम तथा शिक्षकहरूको परिचय गराइनुको साथै बालबालिकाहरूद्वारा आफ्नो सांस्कृतिक तथा अन्य प्रतिभाहरू समेत प्रस्तुत गरिने कुरा सञ्चालकहरूले जानकारी गराउनुभएको छ।

यसरी हेर्दा यस एकेडेमीले जापानीज स्कूलमा पढिरहेका बच्चाहरूको पढाई नछुटाईकनै उनीहरूको अंग्रेजी र नेपाली भाषिक दक्षता विकाश गराउँदै नियमित स्कूलको नतिजामा समेत उल्लेखनीय सुधार गराई नेपालीहरूको “जापान ड्रिम” साकार पार्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।

जापानमै पहिलो पल्ट सञ्चालन हुन लागेको यस्तो विशिष्ट मोडेलको नमुना स्कूल ओसाकाबाटै शुरु हुन लागेकोले ओसाकाबासी नेपालीहरूमा आफ्नो बाल-बच्चाहरूको शैक्षिक भविष्य प्रति ठूलो आशा जागेको देखिन्छ।

आफ्नो नानी-बाबुहरूको लागि उपयुक्त कक्षाको बारेमा बुझ्न चाहानुहुने हरुले शाइन ब्रिज एकेडेमीमा सिधै फोन तथा इमेल गर्न सकिने बाताइएको छ।

फोन नं : 080-3186-6844, 070-8967-6617
इमेल : bridgeedu.info@gmail.com

Leave a Reply

Top