You are here
Home > खुसी बाँडे खुसी बढ्छ > जापानमा जुलाई २५ तारिख पहिलो पटक ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुने

जापानमा जुलाई २५ तारिख पहिलो पटक ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुने

टोकियो । नेपाल पत्रकार महासंघको पहिलो पटक ‘ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुने भएको छ। पत्रकार महासंघ जापान शाखाको आयोजनामा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आयोजना हुने भएको हो । विश्वका विभिन्न मुलुकमा क्रियाशील नेपाली पत्रकारहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आगामी जुलाई २५ तारिख टोकियोमा एकदिने ग्लोबल सम्मेलन आयोजना गर्न लागिएको हो। सम्मेलनमा विश्वभर छरिएर रहेका नेपाली सञ्चारकर्मी, सञ्चार विज्ञ, डिजिटल मिडिया प्रतिनिधि तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। उक्त सम्मेलनका लागि नेपाल पत्रकार महासंघ (FNJ) केन्द्रीय कार्यसमितिका ३३ जना प्रतिनिधिहरूको जापान प्रवेश भिसा स्वीकृत भएको र अन्यको प्रक्रियामा रहेको नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रवीन्द्र श्रेष्ठले जानकारी दिए ।

देश-विदेशमा रहेका नेपाली सञ्चारकर्मीहरूबीच आपसी सहकार्य, अनुभव आदानप्रदान तथा अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा डिजिटल पत्रकारिता, एआई, सामाजिक सञ्जालको प्रभाव, प्रेस स्वतन्त्रता, प्रवासी पत्रकारिताका चुनौती र अवसर, प्रवासीमा क्रियाशील नेपाली पत्रकारहरूलाई पत्रकार महासंघको मताधिकार लगाएको एजेण्डा राखेर एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्समा छलफल हुने जनाइएको छ। उक्त सम्मेलनमा विभिन्न विषयमा प्यानल छलफल र टोकियो घोषणा पत्र घोषणा गर्ने तयारी रहेको पत्रकार महासंघ जापानले जनाएको छ ।

Leave a Reply

Top