ता थै तक थै …! साहित्य हास्यव्यङ्ग्य August 23, 2021 -सुमी लोहनी आजभोलि त नेपाली जन्तालाई सारै हाइसन्चो भ’को छ । साँच्चै, यस्ता महान्, त्यागी, दूरदर्शी नेता भएका देशका बासिन्दालाई हाइसन्चो नभए कसलाई हुन्छ त ? स्वच्छाले होस् कि कोच्चार होस्, राजनीतिको रन्कोले रननन रन्कार नरन्थनाको कसलाई पो होला र नेपालाँ ! गजबको छ बा यो राजनीति भन्ने कुरा पनि ! सायद केही बुझेर यसको पछि लागेका होलान् । सयौँले बुझे जस्तो गरेर यसलाई पछ्याका होलान् । हजारौ चाहिँ आँखा चिम्म चिम्लेर अगाडिकाको पछिपछि दौडिरहेका होलान्, ‘बुझ्नु न सुझ्नु के जाति गौडो पूज्नु’ भने झैँ गरेर । केही चैं आफ्ना ख्वामितलाई प्रसन्न पारी ‘मौकामा चौका हान्न’ लागेका होलान् । नत्र किन सधैँ सत्ताको कुर्सीमा पुग्न बार्हमासे ओलम्पिक म्याराथुन गेम चलिरहन्थ्यो र ! हुन त बाहुनको जातले च्याउ खाओस् न स्वाद था पाओस्’ भन्छन् क्यार ! आफूले त जातभातलाई ताकमा राखेर मजासँग च्याउ पनि खाइयो र स्वाद पनि था पाइयो । तर राजनीतिको ‘र’ भनेर उच्चारण गर्नासाथै मुखको स्वादै बदलिएर आहा ! कस्तो तितो, टर्रो गलगाँडको औषधिजस्तो मिठो भएर आउछ । अनि कसरी था पाउनु त मजस्ता बज्रस्वाँठले यसको स्वाद ! त्यसैले पनि होला राजनीतिको रङ्गीन चस्मा लाउने र नलाउनेको एउटै कुरालाई पनि हेर्ने हेराइ नै फरक भएको । यस्तो फरक देख्दा घरिघरी आफैँ छक्क परी पक्क परिन्छ । साँच्चै पावरको यस्तो रङ्गीन चस्मा लगा’र सत्ताको शक्तिमा चुर्लुम्म भएर हरेपछि त आफू चाहिँ सर्वगुण सम्पन्न भर्खर ब्युटी पार्लरबाट आ’को जस्तै राम्रो र सुन्दर अनि अरू सबै चाहिँ सर्वदोष सम्पन्न गाजलको बट्टाबाट फुत्रुकफुत्रुक निस्केका जस्ता मात्र देन्छिन् होला हगि ! के साँच्चै राजनीतिको कलरफुल चस्माले हेरेपछि कालोलाई सेतो, सेतोलाई कालो, अनि राम्रोलाई नराम्रो अथवा जे देख्दा, भन्दा आफूलाई फाइदा हुन्छ त्यही मात्रै देखिन्छ होला । सबैको दुःखकष्ट, अभाव आदि देखिए कति राम्रो हुन्थ्यो । के गर्नु चस्मै त्यस्ता झिनामसिना कुरा नदेख्ने भएपछि कस्को बाउको के लाग्छ र ! अनि राजनीतिमा नलाग्नेले चैँ किन ‘साउनमा आँखा फुटेको गोरु’ झैँ सधैँ सामुन्ने जे छ त्यही मात्र देख्छन् होला, कालोलाई कालै, सेतोलाई सेतै ! हुन त राजनीतिको ‘र’ पनि नजान्नेले कुटनीतिको कुटिल कुरोको चूरो के जान्नु र बिचरा ! लौ भैहाल्यो नि त, जे सुकै होस्, होस् भनौँ भने पनि राजनीतिसँग गोरु बेचेको साइनो पनि नभएकालाई पनि यसले मैमत्त भएको हान्ने राँगोले झैँ माया गरेर कस्तो रमाइलोसँग हरेक कुरामा खेदिरहेछ । र सर्वसाधरण चाहिँ धोती, टोपी स्याहार्दै खुसीसाथ ‘को फस्ट’ भन्दै दौडिरहेछन् । जसरी हावाले सर्वत्र फैलेर आफ्नो आभास सबैलाई गराइराखेको हुन्छ त्यसैगरी राजनीतिको रापले पनि हरेक कुरामा ग्रीष्म यामको शीतल ‘लू’ बनेर सबैलाई आफ्नो आभास गराउँदै छ र सबै दङ्दास परेर शान्तिको सास फेर्दै यसकै तालमा ‘ता थै तक थै’ गर्दै छन् । बाँकी कुरा पछि गर्दै गरौँला नि, हुन्न र ! अहिले चैँ तालमा तालै मिलाऊँ क्यार ! ‘ता थै तक थै ..ता…थै…! काठमाडौं