You are here
Home > साहित्य > पहिरो

पहिरो

वासुदेव अधिकारी

सानो छोराले सोध्यो-

पहाड केले बन्छ बाबा ?

मैले भनेँ-

ढुङ्गाले

माटाले

माटो र ढुङ्गाले

 

उसले फेरि सोध्यो-

माटो र ढुङ्गा सधैँ मिलेर बस्छन् त ?

बसे त जाती !

के तिनीहरुमा हामी दिदी भाइ झैँ झगडा हुँदैन ?

दाजु भाइ झैँ कलह पर्दैन ?

कि पहिरो आएको पनि त्यसै भएर हो ?

ढुङ्गा माटोले कलह गरेका ?

कोपराकोपर गरेका ?

 

छोराको सानो जिज्ञासामा

गहिरो अर्थ भेटेँ मैले

अग्लो अस्तित्वमा पहिरो जानु

आस्थाको चट्टान धुलोपिठो हुनु होइन ?

दृढताको फलाम खिया पर्नु होइन ?

मूल्यमा लेते लाग्नु होइन ?

 

सुदढतामा प्रश्न हो पहिरो

यो जीवनको घाउ हो

असन्तुलन हो

अनाबद्धता हो

पहिरोको घाउमा म कविता लेख्छु-

वित्यासको

प्रलयको

पछुतोको

 

धेरै बिमर्श गर्नु छ

उचाइ र पहिरोको नाता पर्गेल्न

माटो र ढुङ्गाको अँगालो कायम गर्न

यसको जरा थाहा पाउन

यो सिर्जित प्रलय दम्पच बनाउन ।

 

लैनचौर, काठमाडौं

 

                                  

 

 

Leave a Reply

Top