You are here
Home > प्रवास > “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५”सँगै कान्साईवासीमा देखिएको खुसी र मेरो अनुभब

“प्रथम नेपाल फेस्टिवल कान्साई २०२५”सँगै कान्साईवासीमा देखिएको खुसी र मेरो अनुभब

-मोहन कुवर

“नेपाल र नेपालीको जापानमा पहिचान, नेपाल फेस्टिभलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन” भन्ने मूल मान्यताका साथ, नेपाली राजदूतावास टोकियोको सहकार्यमा गैर-आवासीय नेपाली सङ्घ जापान क्षेत्रीय समिति (कान्साई)को आयोजना तथा कान्साईमा सक्रिय सङ्घ-संस्थाको सह-आयोजनामा नेपालको कला, संस्कृति, रीतिरिवाज र परम्परालाई प्रवासमा निरन्तरता दिने उद्देश्यले यही मिति २०२५ अप्रिल २६ र २७ तारिखका दिन आयोजना भएको “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” सम्पन्न मात्र नभएर एउटा ऐतिहासिक दिन पनि बनेको छ। विगतका वर्षहरुबाट कान्साईमा नेपाल फेस्टिभल आयोजना गर्ने भनिएतापनि विभिन्न आन्तरिक कारणहरुले गर्दा लामो समयसम्म पूरा हुन सकेको थिएन तर यसपाली पहिलो पटक भएतापनि नेपाली समुदाय र जापानीहरुको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको छ।

उक्त फेस्टिभलमा उपस्थित नेपालबाट घुम्न आएका बुढा भएका बुवा आमाहरुको अनुहारमा देखिएको खुसि, २/३ महिनाका बच्चाहरु बोकेर रमाइलो हेर्न पुगेका अभिभावकहरु, विद्यार्थी देखि विभिन्न पेसामा आबद्ध उपस्थित ब्यक्तिहरुको नाच र जमघटको खुसिले निकै सक्रिय रुपमा लागिपरहेको आयोजक समुहलाई आगामी वर्षहरुमा पनि कान्साईवासी यसरी नै निरन्तर नेपाल फेस्टिभललाई निरन्तर देख्न चाहाने छन भन्ने कुरा प्रष्ट झल्किन्थ्यो।पहिलो दिन करिब १० हजार भन्दा बढीले फेस्टिभल अवोलकन गरे भने दोस्रो दिन झन बाक्लो उपस्थित रह्यो । अतिथिको रुपमा नेपाली राजदुताबास महामहिम राजदुत डा. दुर्गा बहादुर सुबेदि ,एनआरएनए एनसीसीका पदाधिकारी
, एनआरएनए जापानका अध्यक्ष ,विभिन्न सामाजिक सङ्घसंस्थाका व्यक्तिहरु साथै ओसाका सिटिका मेयर र अन्य विभिन्न पेसा तथा व्यावसायमा आबद्ध जापानीहरुको उपस्थित पनि रहेको थियो भने नेपाली संकृति झल्किने विभिन्न झाँकीहरुले नेपाल फेस्टिभलमा नेपाल र नेपालीहरुको कला संस्कृतिको बारेमा जापानीहरु सामु छुट्टै किसिमको पहिचान पनि दिएको थियो।

जापानको एनआरएनए लगायत अन्य क्षेत्रीय समितिहरुले जापानका विभिन्न क्षेत्रहरुमा कार्यक्रम गर्दै गर्दा कान्साईले मात्र कार्यक्रम आयोजना गर्न नसक्नु निकै निराशाको विषय थियो तर यसपाली कान्साई क्षेत्रीय कार्यसमितिले मुल आयोजक समिति र विभिन्न व्यक्ति तथा सामाजिक सङ्घसंस्थाहरुसँग मिलेर फेस्टिभल आयोजना सम्पन्न गर्यो त्यसैले पनि यसलाई एउटा सफलताको रुपमा हेर्न सकिन्छ्।यसरी नै आगामी दिनहरुमा पनि कान्साईका विभिन्न सामाजिक सङ्घसंस्थाहरु मिलेर अघि बढ्न सक्ने हो भने कान्साईमा जस्तोसुकै काम र योजनाहरु पनि सफल गर्न सकिन्छ भन्ने कुरा नेपाल फेस्टिभलमा देखिएको एकता र हातेमाले पनि बताएको देखिन्छ।

कान्साईमा नेपाल फेस्टिभल सम्पन्न हुँदै गर्दा कान्साईवासी नेपालीहरुलाई मनोरञ्जन मात्र नभई आयोजकले लिएका अन्य धेरै लक्ष्यहरु पनि सोचेभन्दा बढी उपलब्धि भएको होकी भन्ने कुरा उपस्थित नेपाली र जापानी समुदायहरुको भीडले देखाएको थियो तर आर्थिक अवस्थाबारेमा केहि दिनमा आउने विवरणले पनि वास्तविक अवस्था बताउने छ। नेपाल फेस्टिभल निम्न कुराहरुमा भने सकारात्मक सन्देश र विशेष सहयोग भने अवश्य पुराएको महसुस गरिएको छ।

पर्यटन प्रवर्द्धनको सजिलो माध्यमः
नेपाल फेस्टिभलले जापनीहरुको नेपाल भ्रमणको लागि एउटा सजिलो माध्यमको रुपमा योगदान पुर्याएको देखिन्छ। कार्यक्रमको पहिलो र दोस्रो दिन नै जापानीहरुको बाक्लो उपस्थिति रहेको थियो।पहिलो दिनको सुरुवाती ३ घण्टामा मात्रै भोलिन्टियर्स कक्षबाट करिब १० जना भन्दा बढी जापानीहरुले नेपाल जानको लागि भिसा प्रक्रियाको बारेमा बुझेका थिए।
नेपाल फेस्टिभलको मूल नारा अन्तर्गत जापानी समुदाय विच पर्यटन प्रवर्द्धनको प्रचारप्रसार अभियान पनि रहेको हुनाले यसलाई सफलताको रुपमा लिन सकिन्छ र आगामी दिनमा नेपालको पर्यटन व्यवसायमा केहि न केहि रुपमा भएनि योगदान पुग्ने देखिन्छ।

जापानी समुदाय विच नेपाली कला संकृतिको व्यापक प्रचार प्रसार

नेपाल फेस्टिभलमा जापानी नागरिकहरुको उपस्थिति निकै राम्रो थियो र त्यसैमाथी दुई दिन नै स्टेज कार्यक्रममा जापानी कलाकारहरुले नेपाली गीत गाएर छुट्टै मनोरन्जन प्रदान गरिरहेका थिए भने दोस्रो दिन पनि जापानी कलाकारले नेपाली पहिरन कुर्ता सुरुवाल लगाएर नेपाली गीत गाउँदै मादल बजाउनुले साच्चिकै जापानी समुदायप्रति हाम्रो कला संस्कृति निकै लोकप्रिय भएको होकि भन्ने महसुस बनाएको थियो। यसैगरी नेपाली पन्चेबाजा पनि जापानीहरु छमछमी नाचेर निकै मज्जा लिइरहेका थिए।नेपाल फेस्टिभलमा जापानी नागरिकहरुबाट नेपाल र जापानको झन्डा अंकित ब्याच र नेपाली झन्डा पनि अत्याधिक मात्रामा किनेको देखिन्थ्यो जसले पनि नेपाल प्रतिको माया दर्साएको बुझिन्थ्यो।दुई दिनको कार्यक्रममा अन्य जापानीहरु पनि नेपाली भेषभूषा नै लगाएर आएका थिए जसले गर्दा पनि आगामी दिनमा नेपाल फेस्टिभलले थप सहयोग पुर्याउने छ भन्ने आशा गरिएको छ।

नेपाली खानामा जापानीहरुको बढ्दो मोहः
कान्साईमा चलेको नेपाल फेस्टिभलमा नेपाली रेस्टुरेण्टका अगाडी जापानीहरुको निकै बाक्लो उपस्थिति देखिन्थ्यो साथै केहि जापानीहरुले भोलिन्टियर्स कक्षबाट पनि नेपाली खानाको प्रकार र स्वादको बारेमा जानाकारी लिएका थिए ।नेपाली खाना अन्तर्गत जापानीहरुले अत्याधिक मात्रामा रुचाएको परिकार मोमो, समोसा र पानीपुरी रहेको थियो। आशा गरौ आगामी दिनमा जापानमा सन्चालित नेपाली रेस्टुरेण्टमा जापानीहरुको उपस्थिति बढ्दै जानेछ तर जापानीहरु प्रति गरिने व्यवहार र खानाको गुणस्तरमा ध्यान दिन पनि जरुरी देखिन्छ। कान्साई फेस्टिभलमा केहि रेस्टुरेन्टका कर्मचारीहरुमा पनि आफ्नो पहिरन र सरसफाईलाई अलिक ध्यान दिन नसकेको होकी जस्तो पनि देखिएको थियो त्यसैले आगामी दिनमा पनि यस्ता कुराहरुमा निकै विचार पुर्याउन जरुरी देखिन्छ।

जापानी कम्पनीहरुको सहयोग तथा प्रचारप्रसारमा उत्कृष्ट भूमिका
कान्साईमा भएको नेपाल फेस्टिभलमा दुई दिन बिहानै देखि नै जापानीहरुको आवातजावत निकै बाक्लो रहेको थियो। नेपाल फेस्टिभललाई जापानी समुदायहरु विच पुर्याउन विभिन्न मिडियाहरुको महत्त्वपुर्ण भूमिकासँगै मुख्य प्रायोजकको रुपमा रहेको नान्काइ रेल्वे कम्पनीको भूमिका विशेष नै रह्यो जसले रेल सेवामा रेल भित्रै नेपाल फेस्टिभलको पर्चा र भिडियो मार्फत बारम्बार सूचना सम्प्रेषण गरि जापानी नागरिकहरुलाई लामोसमयसम्म नै जानकारी प्रदान गरिरह्यो।
नेपाल फेस्टिभल्लाई विभिन्न तबरबाट सहयोग गर्ने जापानका विभिन्न संस्था तथा कम्पनीहरु यसप्रकार रहेका थिए।ओसाका प्रिफेक्चर ,ओसाका सिटि ,मियाकोजिमा कु ,ओसाका इन्टरनेशनल हाउस फाउन्डेशन, ओसाका फाउन्डेशन अफ इन्टरनेशनल एक्सचेन्ज ,ओसाका चेम्बर अफ कमर्श, त्यसै गरि प्रायोजन तर्फ मुख्य प्रायोजक नान्काइ रेल्वे कम्पनी आदी।

नेपालीहरु विच भेटघाटको अवसरको माध्यमः
सामाजिक सन्जालबाट चिनेका तथा लामोसमयसम्म भेट हुन नसकेका साथिभाई तथा आफन्तहरु विच धेरैलाई भेट्ने अवसर पनि नेपाल फेस्टिभल बन्न पुग्यो।जापानको व्यस्त जीवनशैलीमा यसरी नेपालीहरु विच भेट भएर एक आपसमा रमाउँदै नाच्दै केही दिनको लागी भएपनि आफ्ना पीडाहरुलाई भुल्न्ने माध्यम को रुपमा सहयोगी बन्यो नेपाल फेस्टिभल । आशा गरौँ आगामी वर्षहरुमा पनि कम्तिमा २ वर्षको अन्तरालमा भएपनि कान्साईमा यसरी कार्यक्रमहरु आयोजना हुनेछन।

मौसमले दिएको साथः
जापानमा अप्रिल महिना मौसमको हिसाबले निकै राम्रो हुने पनि गर्दछ।न जाडो न घाम निकै मिठो मौसमसँगै नेपाल फेस्टिभललाई प्रकृतिले पनि निकै मिठो साथ दियो जबकी कार्यक्रम समाप्तिको अर्को दिन जापानमा दिन भर पानी पर्यो। आगामी वर्षहरुमा पनि कार्यक्रम गर्दा यसरी नै मौसमको प्रतिकुलतालाई ध्यानमा राख्न जरुरी देखिन्छ।

“प्रथम नेपाल फेस्टिभल कान्साई २०२५” जुन स्तरबाट समापन भयो त्यसलाई उत्कृष्ट नै मान्नुपर्दछ।पहिलो पटक कार्यक्रम आयोजना गर्नु त्यति धेरै सामान्य र सहज अवस्था पक्कै पनि थिएन तरपनि कार्यक्रमको शैली र विभिन्न प्रस्तुतीहरु सहित निकै भव्य र सभ्य रुपमा कार्यक्रम सम्पन्न भयो।आगामी वर्षहरुमा पनि अझ उत्कृष्ट शैलीबाट कार्यक्रम आयोजना गर्न अहिले भएका स- साना कमिकमजोरीहरुको बारेमा पनि समिक्षा गरि अघि बढियो भने एउटा ज्ञानको रुपमा महत्त्वपुर्ण भूमिका प्रदान गर्न सक्दछ।

स्वयमसेवकहरुको सङ्ख्यामा कमि महिला स्वयमसेवीकाहरुको न्युन उपस्थितिः

कान्साईमा मात्रै ६० भन्दा बढि विभिन्न सामाजिक सङ्घसंस्थाहरु रहेका छन र सम्पुर्ण सामाजिक सङ्घसंस्थाहरुको अभिभावक एनआरएनए क्षेत्रिय समिति कान्साई लाई नै मानिने भएको साथै अन्य सामाजिक सङ्घसंस्थाहरुलाई सह-आयोजकको रुपमा खुल्ला आह्वान गर्दा पनि सहयोगमा हातेमालो गर्दै नजुट्नु एउटा गैरजिम्मेवारी पन पनि होकी जस्तो महसुस गरिएको छ। नेपाल फेस्टिभल मुल आयोजक समिति र एनआरएनए कान्साईको कार्यसमितिको मात्र जिम्मेवारी नभई हामी सम्पुर्ण नेपालीहरुको पनि उत्तिकै दायित्त्व हुनुपर्द्छ भन्ने कुरा कान्साईवासी विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध व्यक्तिहरुले सोच्न जरुरी रहेको छ। जापानमा हरेक ठाउँमा महिलाहरुले पनि उत्तिकै सक्रिय भूमिका वहन गरि काम गर्ने हुनाले पनि जापानी समुदायहरुको अघि महिलाहरुलाई पनि सक्रिय रुपमा सहभागी गराउन जरुरी देखिन्छ। कान्साईमा दुई दिन जसरी दर्सकहरुको बाक्लो उपस्थिति भएको थियो त्यहि अवस्था अनुसार मानविय व्यवस्थापनमा स्वयमसेवकहरुको उपस्थिति निकै कम देखियो , त्यसैले पनि आगामी वर्षहरुमा यसलाई विशेष ध्यान दिन जरुरी देखिन्छ्।

साउण्ड सिस्टममा देखिएको समस्याः
जापानको हरेक क्षेत्रमा कार्यक्रमहरु आयोजना गर्दै गर्दा विभिन्न मापदण्ड अनुरुप अघि बढ्नुपर्ने हुन्छ त्यसैले यसपाली कार्यक्रम आयोजना भएको स्थान पनि बस्तिहरुको विचमा भएको कारणले गर्दा होला केहि असहज भएको महसुस गरिएको थियो।केहि कलाकारहरुको प्रस्तुतीमा स्वर सुन्न पनि निकै गार्हो महसुस गरिएको थियो।विशेषगरी हरेक कलाकारहरुको प्रस्तुतीलाई साउण्ड सिस्टमले पनि प्रभाव पार्ने भएकोले दर्शकहरुलाई सजिलै स्पष्ट सुन्न सकिने व्यवस्था हुन जरुरी हुन्छ।

एक दुईजना ख्याती प्राप्त कलाकारहरुको अनिवार्य उपस्थितिः
जापानको हरेक क्षेत्रमा हुने नेपाल फेस्टिभलमा सांस्कृतिक कार्यक्रम नै विशेष हुने भएकोले १/२ जना ख्याती प्राप्त कलाकारहरुको उपस्थिति रहेमा दर्शकहरुले भरपुर्ण रुपमा आनन्द लिन सक्दछन।कान्साईमा भएको नेपाल फेस्टिभलमा पनि त्यस्तै देखियो , निकै लामो समय देखि नेपाली लोकसङ्गीतमा व्यस्त रहेका चर्चित गायक मिलन लामाको प्रस्तुतीले माहोल निकै ततायो र दर्शकहरु पनि निकै लामो समयसम्म रमाईरहेका थिए।अन्य प्रस्तुती भन्दा विशेष पनि रह्यो मिलन लामाको प्रस्तुती त्यसैले जापानमा रहेका कलाकारहरुको प्रस्तुतीसँगै एक दुई जना चर्चित कलाकारको उपस्थिति पनि आवश्यक पर्दो रहेछ भन्ने कुरा यसपालीको फेस्टिभलले महसुस गराएको छ।

कार्यक्रमको तालिका प्रचारप्रसारमा जापानी भाषाको पर्चाको कमि
अधिकांश जापानीहरु कार्यक्रममा आउने र त्यहाको अवस्थाको बारेमा अवोलकन गरेर फर्किने हुन्छन जसरी नेपालीहरु जस्तै दिउँसो आएर साझसम्म लामो समय बस्दैनन ।केहि जापानीहरुले भोलेन्टियर्स कक्षमा आउँदै कार्यक्रमको तालिकाको पर्चा मागिरहेका थिए तर नेपाली र अङ्ग्रेजी भाषामा मात्र उपलब्ध भएको हुनाले आगामी वर्षहरुमा जापानी भाषामा नेपाल फेस्टिभलको बारेमा छोटो परिचय सहितको कार्यक्रमको तालिका बनाई उपलब्ध बनाउन सकियो भने जापानीहरुलाई जानाकारीको लागि सहजता हुने महसुस गरिएको छ।

(नोट : यो लेख तयार गर्दै गर्दा आयोजक सम्बन्धित व्यक्तिहरुसँग कुनै सोधखोज नगरी आफुले देखेको बुझेको कुराहरु मार्फत लेखिएको त्यसैले लेख्नु पर्ने अन्य कुराहरु समावेश नभएको पनि हुन सक्दछ केहि कुराहरुमा गलत बुझाई पनि हुन सक्दछ त्यसैले यो लेखबाट केहि नराम्रो असर पर्न गएमा क्षमा चाहान्छु)

मोहन कुवर
ब्लु ब्वाइज युनियन परिवार जापान ओसाका

 

Leave a Reply

Top