You are here
Home > प्रवास > एनआरएनए कान्साईको वार्षिक साधारण सभा सम्पन्न, सामुदायिक समस्या समाधानमा सहकार्यको जोड

एनआरएनए कान्साईको वार्षिक साधारण सभा सम्पन्न, सामुदायिक समस्या समाधानमा सहकार्यको जोड

ओसाका, अक्टोबर १५। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, क्षेत्रीय समन्वय परिषद् कान्साईको वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ।

परिषद्का संयोजक भीमबहादुर घर्ती मगरको सभापतित्वमा सम्पन्न सभामा एनआरएनए जापानका कार्यवाहक अध्यक्ष टीकाराम खरेल प्रमुख अतिथि रहेका थिए।

सभामा संस्थाका वार्षिक गतिविधि, प्रगति तथा आर्थिक अवस्थाबारे छलफल गरिएको थियो। साथै, कान्साई क्षेत्रमा नेपाली समुदायको जनसङ्ख्या बढेसँगै देखिएका सामाजिक, प्रशासनिक तथा व्यावहारिक समस्याबारे सहभागीहरूले ध्यानाकर्षण गराएका थिए।

वक्ताहरूले नेपाली समुदायका समस्या समाधानका लागि सक्रिय संघसंस्थाबीच समन्वय, सहकार्य र संयुक्त पहललाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। समुदायको हकहित, सुरक्षा, सामाजिक एकता तथा संस्थागत सुदृढीकरणका लागि सरोकारवाला पक्षबीच आपसी समझदारी र सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो।

कार्यक्रममा एनआरएनएका पूर्व अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यहरू, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) जापानका पदाधिकारी तथा सदस्यहरू, कान्साई परिषद्का संरक्षक, सल्लाहकार तथा विभागीय समितिका संयोजक र सदस्यहरूको उपस्थिति थियो। त्यस्तै, विभिन्न नेपाली संघसंस्था, राजनीतिक भ्रातृ संगठनका प्रतिनिधि तथा सञ्चारकर्मीहरू पनि सहभागी थिए।

कार्यकाल २०२५–२०२७ को कान्साई परिषद्ले सभामा सहभागी अतिथि, संघसंस्थाका प्रतिनिधि, पदाधिकारी, सदस्य तथा सञ्चारकर्मीलाई धन्यवाद दिँदै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।

Leave a Reply

Top