साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जित ‘अष्टावक्र महागीतामृत’ कृतिको लोकार्पण सम्पन्न खुसी बाँडे खुसी बढ्छ समाचार साहित्य July 10, 2026 काठमाडौं । असार १७ गते बुधबार बिहान ११ बजे काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनमा आयोजित विशेष तथा भव्य समारोहबीच ‘अष्टावक्र महागीतामृत’ (अध्यात्म तथा अद्वैत वेदान्त दर्शन) कृतिको लोकार्पण गरिएको छ। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जित उक्त कृति साझा प्रकाशनबाट प्रकाशित भएको हो। दीप प्रज्ज्वलन तथा स्वस्तिवाचनबाट सुरु भएको कार्यक्रमको सञ्चालन स्वामी अर्हत्ले गर्नुभएको थियो। कार्यक्रममा बोधिसत्त्व स्वामी आनन्द अरुण, साझा प्रकाशनका अध्यक्ष शेखर गिरी तथा कृतिकी अनुसर्जक सुमी लोहनीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको थियो। कार्यक्रमका प्रमुख वक्ता स्वामी आनन्द अरुणले ओशोले सन् १९७४ मा आफ्ना निकटस्थ अठार साधकका बीच अष्टावक्र गीतामाथि विस्तृत प्रवचन दिएको स्मरण गर्दै यसलाई अद्वितीय र दुर्लभ ग्रन्थका रूपमा व्याख्या गर्नुभयो। अष्टावक्र गीता जनकपुरको भूमिसँग सम्बन्धित भएकाले यसको संरक्षण, अध्ययन र प्रवर्द्धनमा नेपाली समाज अझ संवेदनशील हुनुपर्ने उहाँको भनाइ थियो। उहाँले अष्टावक्र गीतामा जम्मा २९८ श्लोक भए पनि ती प्रत्येक श्लोक गहन आध्यात्मिक अर्थले भरिपूर्ण रहेको उल्लेख गर्दै पहिलो २० श्लोकले नै राजा जनकलाई आत्मबोधको मार्गमा उन्मुख गराएको प्रसङ्ग सुनाउनुभयो। ओशोले अष्टावक्रमाथि दिएका प्रवचनहरूबाट हालसम्म छवटा ग्रन्थ तयार भइसकेको जानकारी दिँदै उहाँले जनकपुरमा अष्टावक्र मन्दिर निर्माण तथा अष्टावक्र गीतालाई राष्ट्रिय कृतिका रूपमा घोषणा गराउन आफू निरन्तर प्रयासरत रहेको बताउनुभयो। कार्यक्रमको प्रारम्भमा अनुसर्जक सुमी लोहनीले कृति लेखनको प्रेरणाबारे प्रकाश पार्दै कोरोना महामारीका क्रममा अष्टावक्र महागीता अध्ययन गर्दा आफू गहिरो रूपमा प्रभावित भएको र त्यसको सार आमपाठकसम्म सहज भाषामा पुर्याउने उद्देश्यले यो अनुसिर्जन गरेको बताउनुभयो। यसै क्रममा साझा प्रकाशनका अध्यक्ष शेखर गिरीले अष्टावक्र गीताको दार्शनिक महत्त्वबारे आफ्नो धारणा व्यक्त गर्नुभयो भने कृतिको समीक्षाका क्रममा डा. रमा भट्टराईले पुस्तक आमपाठकका लागि उपयोगी, आत्मबोधका दृष्टिले महत्त्वपूर्ण तथा महिला स्रष्टाको सिर्जनालाई उचित सम्मान गरिनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा डा. अनन्त अर्यालले अष्टावक्र महागीतालाई ध्यान, साधना र सेवाभावका साथ अध्ययन गरे मात्र यसको गहिरो अर्थ बुझ्न सकिने बताउँदै स्वामी रवि शङ्करले समेत अष्टावक्र गीताको महत्त्वबारे सकारात्मक चर्चा गरेको प्रसङ्ग उल्लेख गर्नुभयो। साझा प्रकाशनबाट प्रकाशित ११२ पृष्ठको ‘अष्टावक्र महागीतामृत’ को मूल्य रु. २४० निर्धारण गरिएको छ।