You are here
Home > प्रवास > ओसाकामा नेपाली बाल-बालिकाहरूको लागि नमुना स्कूल सञ्चालन सम्बन्धि अन्तरक्रिया सम्पन्न

ओसाकामा नेपाली बाल-बालिकाहरूको लागि नमुना स्कूल सञ्चालन सम्बन्धि अन्तरक्रिया सम्पन्न

ओसाका ,जापान,

ओसाकामा नेपाली बाल-बालिकाहरूको लागि नमुना स्कूल सञ्चालन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।शाइन ब्रिज एकेडेमीको आयोजनामा यही अप्रिल २ मा ओसाका स्थित नाम्बा कल्चर बिल्डिङ्ग ( なんばカルチャービル) मा ओपन स्कूल स्कूल सञ्चालन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाली बाल-बालिकाहरु, अभिभावकहरु, कान्साई क्षेत्रका नेपाली समुदायको बिशिष्ट व्यक्तित्वहरु तथा केहि जापानीहरु समेतको सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा एकेडेमीका संस्थापक जीत सापकोटाले जापानमा नेपाली समुदायले आफ्ना छोरा-छोरीहरुको शैक्षिक उन्नतिमा व्यहोर्नु परेका चुनौती र सम्भावनाहरुको चर्चा गर्दै, एकेडेमीको तत्कालिन र दिर्घकालिन लक्ष्य तथा उदेश्यहरु प्रस्तुत गर्नुभएको थियो। उहाँले बिभिन्न अध्ययन-अनुसन्धानहरुको आधारमा तयार गरिएको शाईन ब्रिज शैक्षिक मोडेल प्रस्तुत गर्दै भन्नुभयो “यस मोडलको सफल प्रयोग हुन सकेमा यसले नेपाली बाल-बालिकाहरुको “जापान ड्रिम” साकार पार्दै सुनौलो भविष्य निर्माण गर्न बिशेष भूमिका खेल्ने छ।”

उक्त शैक्षिक मोडेलको सफल प्रयोगले जापानमा रहेका नेपाली बाल-बालिकाहरुमा नेपाली भाषा संस्कृति र आफ्नो राष्ट्रिय पहिचान प्रति रुचि एवं सम्मान जगाउँदै उनीहरुलाई नेपाली भाषा सजिलै लेख्न, पढ्न र बोल्न सक्ने बनाउने आयोजकको भनाइ रहेको छ। साथै, उक्त मोडेलले बाल-बालबालिकाहरुलाई अंग्रेजी भाषामा दक्ष बनाउंदै उनीहरुमा विश्वव्यापी सोचको बिकाश गराउने र नियमित बिद्यालय शिक्षामा समेत उत्कृष्ट नतिजा ल्याउन सक्षम बनाउने शाईन ब्रिज एकेडेमीको लक्ष्य रहेको छ।

यस एकेडेमीका अर्का संथापक तथा एभरेस्ट इन्टरनेसनल स्कूल टोकियोका संस्थापक प्रिन्सिपल प्रदिप थापाले शाईन ब्रिज शैक्षिक मोडेलको सफल कार्यान्वयनको लागि तयार गरिएको अंग्रेजी तथा नेपाली पाठ्यक्रमहरुको बारेमा बिस्तृत रुपमा प्रस्तुतीकरण दिनुभयो। उहाँले पाठ्यपुस्तकहरुमा आधारित अडियो-भिजुअल सहित एस एकेडेमीले प्रयोग गर्ने नमुना लेसनहरु समेत आकर्षक रुपमा प्रस्तुत गर्नुभएको थियो।

त्यस्तै अर्का संस्थापक दिलिप सुवेदीले अभिभाभावकहरुलाई कक्षाहरुको तयारी र अन्य ब्यबस्थापकीय बिषयमा बिस्तृत जानकारी गराउनुभएको थियो।

उक्त कार्यक्रममा, निकट भविस्यमा थप्दै लगिने साइन्स, म्याथ, कोकुगो (जापानिज भाषा) लगायतका कोर्सहरु, STEM गतिविधिहरु, आधारभूत कम्प्युटर प्रोग्रामिङ्ग तथा कोडिंग लगाए हाल लोकप्रिय भइरहेका बिबिध विधाका कोर्षहरुको बारेमा समेत जानकारी गराइएको थियो।

नेपाली तथा अमेरिकी नेटिभ शिक्षकहरूको समेत परिचय गराइएको उक्त कार्यक्रममा बाल-बालिकाहरुले आफ्नो प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए। मानुशी थापाले जापानी गीतमा र सगुन सापकोटाले नेपाली गीतमा आकर्षक नृत्य गरेका थिए। नेपाली गीतमा प्रस्तुत नृत्यमा एक ४ वर्षीय स्वराज लामिछाने स्टेजमै गएर नाच्ने मान्छेको आकर्षक अनुकरण गर्दै नाचेको देख्दा वातावरण पाएमा नेपाली बाल-बच्चाहरुले आफ्नो भाषा-संस्कृति सजिलै सिक्ने र मातृभूमिप्रतिको माया-ममता बढ्दै जाने स्पष्ट भएको कुरा सहभागीहरु बिच चर्चा भएको थियो।

साथै, विविध बिषयहरुमा अभिभावकहरुसंग गरिएको अन्तरक्रिया कार्यक्रममा अभिभावकहरुद्वारा अत्यन्त उत्साहका साथ बिभिन्न जिज्ञासाहरु राखिएको थियो। ती जिज्ञाशाहरुको उत्तर दिंदै संचालकहरुद्वारा अभिभावकहरुको सुबिधाको लागि अहिले सम्भव सबै सेवा-सुविधाहरुको व्यवस्था गर्ने र थप सेवा-सुविधालाई अन्य क्षेत्रहरुमा समेत विस्तार गर्दै लगिने प्रतिबध्दता ब्यक्त गरियो।

कार्यक्रममा NRN कान्साईका संयोजक दिलिप शर्मा र NRNA – ICC का पूर्व सदस्य तुलसी राम खरेलले आफ्नो मन्तब्य राख्नुहुँदै शाईन ब्रिज एकेडेमीको उत्तरोत्तर सफलताको कामना गर्नु भएको थियो। उहाँहरुले शिक्षा सम्बन्धि समस्याकै कारणले अब जापानवासी नेपालीहरुले आफ्ना छोरा-छोरीहरुलाइ नेपालमै छोड्नुपर्ने अवस्था हट्दै जाने बिस्वास ब्यक्त गर्नुभयो। साथै, उहाँहरुले कार्यक्रममा आफनो प्रतिभा प्रस्तुत् गर्ने र सहभागी सबै बाल-बालिकाहरुलाई उपहारहरु प्रदान गर्नुभएको थियो।

यस् किसिमको विशिष्ट शैक्षिक संस्थाको संचालनबाट अब आफ्ना छोरा-छोरीहरुलाई जापानमै आफूसंगै राखेर उनीहरुमा नेपाली भाषा-संस्कृतिको समेत जगेर्ना गर्दै, सानै देखि अंग्रेजी भाषाको विकास गराउंदै, जापानिज स्कूलमा उनीहरुको शैक्षिक उत्कृष्टता हासिल गर्न सहज वाताबरण बन्दै गरेको सहभागीहरुको प्रतिक्रिया रहेको थियो।

यही अप्रिल महिनाको १६ तारिख शनिवारबाटै नियमित रूपमा कक्षाहरु संचालन हुने भएकाले आफ्नो बच्चाहरुको लागि पनि उपयुक्त कक्षाहरुमा भर्ना गर्न इच्छुक व्यक्तिहरुले एकेडेमीका व्यवस्थापकहरुलाई सिधै सम्पर्क गर्न अनुरोध गरिएको छ।

सम्पर्क फोन नम्बरहरु: 080 3186 6844 र 070 8967 6619

Leave a Reply

Top