स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन सम्पन्न,प्रा.डा.शिवकुमार राई हेल्थ रिसर्च लाइफटाइम अवार्डबाट सम्मानित विविध समाचार April 12, 2019April 12, 2019 नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा ‘संघीयतामा समता र विकासका लागि अनुसन्धान’ मूल नाराका साथस्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन ६ बुँदे घोषणापत्रसमेत जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनमा १ हजार ३ सयभन्दा बढी वैज्ञानिक एवम् सरोकारवाला प्रतिनिधिले एकै ठाउँमा भेला भएर १ सय ३७ वटा जनस्वास्थ्यसँग सम्बन्धित विषयमा छलफल गरेका थिए । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य अनुसन्धानका नतिजा नीति–निर्माणका लागि उपयोगी हुने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको तीनदिने पाँचौँ शिखर–सम्मेलनको समापनमा मन्त्री यादवले विकासका लागि स्वास्थ्य र शिक्षा नै आधार भएको बताए । नागरिकलाई गुणस्तरीय स्वास्थ्यसेव प्रदान गर्न अनुसन्धानले मार्गनिर्देशन गर्ने मन्त्री यादवको भनाइ थियो । यादवले स्वास्थ्योपचारको गुणस्तर विकासका लागि स्वास्थ्यशिक्षा महत्वपूर्ण हुने र त्यससँगै अनुसन्धान जोडिएर आउने बताए । ‘मुलुक बनाउनका लागि शारीरिक र मानसिक रूपमा स्वस्थ नागरिक तयार गर्न शिक्षा र स्वास्थ्यको संयोजन हुनुपर्छ,’ उनले भने । आयोजक संस्था परिषद्का कार्यकारी अध्यक्ष डा. अञ्जनीकुमार झाले मुख्य नारामा आधारित स्वस्थ्यबिमा, नसर्ने रोग, मातृस्वास्थ्य, बालस्वास्थ्य, किशोर–किशोरी स्वास्थ्य मानसिक स्वास्थ्यलगायत थुप्रै विधा र विषयमा महत्वपूर्ण प्रस्तुतीकरण भएको बताए । समापनमा अध्यक्ष झाले अनुसन्धान संस्कृति विकास गरी तथ्यमा आधारित भएर नीति र सेवा विस्तारका लागि परिषद् निरन्तर लागिपरेको बताए । कार्यक्रममा ३३ वटा मौखिक प्रस्तुतीकरण, १ सय ४ वटा पोस्टर, १० वटा विशेष प्रस्तुतीकरण भएका थिए । समापन कार्यक्रममा पूर्वस्वास्थ्यराज्यमन्त्री वंशीधर मिश्र, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेललगायतले समृद्ध नेपालको स्वास्थ्यप्रणालीको विकास र विस्तारमा स्वास्थ्य–अनुसन्धान सहयोगीसिद्ध हुने धारणा राखे । बेस्ट पेपर अवार्ड डा. अनिललाई, हेल्थ रिसर्च लाइफटाइम अवार्ड डा. राईलाई वैज्ञानिक सम्मेलनका अवसरमा परिषद्को जर्नल जेएएचआरसीमा सन् २०१८ मा प्रकाशित लेखमध्ये वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको लेखले उत्कृष्ट लेख–रचना अवार्ड प्राप्त गरेको छ । त्यसैगरी, परिषद्ले यस वर्षदेखि सुरु गरेको हेल्थ रिसर्च लाइफटाइम अवार्डबाट प्रा.डा. शिवकुमार राई सम्मानित भएका छन् । त्यसैगरी आउटस्ट्यान्डिङ हेल्थ रिसर्च अवार्डबाट डा. शमसुल अन्सारी, मृगेन्द्र सम्झना मेडिकल ट्र«स्ट योङ हेल्थ रिसर्च अवार्डबाट बिहंगम विष्ट, बेस्ट इम्प्लोई अवार्ड अफ एनएचआरसीबाट प्रदीप बेल्बासे, पुराना कर्मचारी रामप्रसाद पोखरेल, बेस्ट ओरल प्रिजेन्टेसन अवार्डबाट डा. निशा झा र बेस्ट पोस्टर प्रिजेन्टेसन अवार्डबाट पुष्करचन्द्र ठकुरी सम्मानित भएका छन् । विभिन्न विधामा अवार्ड जित्न सफल व्यक्तित्वलाई मन्त्री यादवले सम्मान गरेका हुन् ।