You are here
Home > साहित्य > विद्या ढकालद्वारा लिखित “आमा” लघुकथा सङ्ग्रह विमोचन

विद्या ढकालद्वारा लिखित “आमा” लघुकथा सङ्ग्रह विमोचन

भानु नगरपालिका निवासी विद्या ढकालद्वारा लिखित ‘आमा’ लघुकथा सङ्ग्रहको आज एक कार्यक्रम बीच विमोचन गरिएको छ । ढकालकै जन्मस्थान भानु नगरपालिका -४ ठाँटीको चौर- कालिका बाल उद्यानमा भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट तथा स्थानीय ८६ वर्षीय आमा लक्ष्मी कुमारी मल्लले संयुक्त रुपमा सो पुस्तकको विमोचन गर्नु भएको थियो ।
त्रिसठ्ठी लघुकथा समेटिएको सो लघुकथा सङ्ग्रहका कथाहरूको साहित्यकार मेदिनी शर्मा चुँदेलीले विवेचना गर्नु भएको थियो । उहाँले शहरको तडकभडकमा नपरी आफ्नै गाउँमा कृतिको विमोचन गराएकोमा कथाकारलाई धन्यवाद समेत दिनुभयो ।
पदम कार्की, भरत अधिकारी, जयहरि ढकाल, हर्कबहादुर थापा, शिक्षक अमृतप्रसाद मिश्र, पार्वती खनाल, ऋषिराम पन्त लगायतले कृतिको समीक्षाका साथ आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो । कृतिकार ढकालले आफ्नो लघुकथा लेखनका अनुभवका साथ अतिथि लगायत उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गर्नु भएको थियो । उहाँले आज मातातीर्थ औँसीको दिनमा सम्पूर्ण आमाहरूको सम्मान स्वरूप आफ्नो आमा लघुकथा सङ्ग्रह सार्वजनिक गर्न पाएकोमा गौरवको अनुभूति भएको बताउनु भयो ।
प्रमुख अतिथि डा. भट्टले नेपाली लघुकथाका प्रवृत्तिहरूको चर्चा गर्दै ढकालका कथामा अहिलेको युग बोल्नुका साथ समाजमा व्याप्त विकृति बिसङ्गतिहरू माथि कडा प्रहार गरिएको बताउनु भयो । स्थानीय साहित्यकार तथा जेष्ठ नागरिक वासुदेव शर्मा ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन शिवशङ्कर पौडेल तथा स्वागत प्रकाशक शान्ता ढकालले गर्नु भएको थियो ।

Leave a Reply

Top