You are here
Home > साहित्य > कविता > प्रतीक्षा

प्रतीक्षा

मालिनी गौतम

 

खिया लागेको

ठुलो ताल्चाभित्र जकडिएकी

उसको कोठाको ढोका बन्द छ

युगौँदेखि …

ताजा हावासम्म आउँदैन … न जान्छ

सास फेर्नका लागि

ऊ बारम्बार बनाउँछे

स-साना झ्याल भित्तामा

फेरि पनि अत्यासका भुमरी

उठिरहन्छन् उसको छातीमा

अनि ऊ दौडिदै

ती झ्याल खोल्ने कोसिस गरिरहन्छे …

यी … सबैभन्दा सानो र प्यारो झ्याल

पर्दाको पछाडिबाट चिह्याउँछ

स्कुलमा सँगै बस्ने

निर्दोष केटाको मुहार

केटो मुस्कुराउँदै छ

तर ऊसँग छैन अब केटालाई

मन पर्ने खानेकुरा …

ढ्याम्म… झ्याल बन्द हुन्छ

नाडी बिस्तारै चल्छ …

यो अर्को झ्याल …

यसमा टाँगिएका छन्

एक जोडी आँखा

तिखो नाक भएको अग्लो केटाको

जो पूरा दिन पत्रपत्रिका र

बजारमा पाइने

ग्रीटिङ कार्डबाट

हिरोको फोटो जम्मा गर्थ्यो

जसको फ्यान थिई ऊ

र उसको फ्यान थियो ऊ …

ढ्याम्म … केटाको बुबाको सरुवा भयो

नाडीको गति झनै सुस्त भयो

यो एउटा  अर्को झ्याल …

फेरि अर्को झ्याल …

यो झ्यालमा गुञ्जिन्छ मधुर गजल

ऊ कहिले झ्याललाई हेर्छे

कहिले घाममा आफ्नै छायालाई

झ्यालबाट अझै आवाज आउछ

सुमधुर गीत …

सङ्गीतको कुनै जात हुँदैन

तर गायकको …

ढ्याम्म … सास झनै धीमा हुन्छ

यो अर्को झ्याल

यसमा रङैरङ फैलिएको छ

कविताले आकार लिन्छ कागजमा

ऊ धर्काको प्रेममा छ आजकल

तर रङ फिका हुँदैछ दिनहुँ

र कविता मौन

ऊ निर्मिमेष हेरिरहेकी छे

झ्यालका बन्द भएका खापा …

सास फेर्न हावा चाहिन्छ

किनकि निर्दयी मृत्यु पनि आउँदैन

आत्तिएकी ऊ प्रतीक्षा गर्दै छे

एउटा अर्को झ्याल खुल्ने … ।

५७४, मंगल ज्योति सोसाइटी

   संतरामपुर ३८९२६० गुजरात, भारत

 

( हिन्दीबाट अनुवादः सुमी लोहनी

              भाटभटेनी, काठमाडौं, नेपाल)

Leave a Reply

Top