You are here
Home > साहित्य > संसार झुट नै हो

संसार झुट नै हो

–शेखरकुमार श्रेष्ठ
जन्मेर आमाको स्तनमा
कोमल मुख पर्न थालेपछि
सुताएको ठाउँबाट दायाँबायाँ
हेर्न थालेपछि
कहाँ के छ खोज्न
डुल्न, चियाउन र पढ्न थालेपछि
झुटो कुरा सिकेको छ ।
झुट सिकेकाले अब भन्नुहोस्
के सिकाउँछ ?
हो, मैले झुट सिकेँ
त्यही सिकाउँदै छु ।
परिवारमा बाबु÷आमाले छल्दा
बस्दा, उठ्दा, खाँदा, खेल्दा
काम गर्दा
भाइ÷बहिनीको गाली जोगाउँदा
दिदी÷भाइको माया जनाउँदा
सुधार्न, जिम्मेवारी लिन
जिम्मेवारी पन्छाउन
गल्ती लुकाउन
सत्य देखाउन
जीवन बराबरी झुट झेल्दै
बालक, तरुण, युवा, वृद्ध बन्छ
अनि झुटमै काल बिताउँछ ।
समाजमा विश्वास दिन÷लिन
आफूलाई लुकाउन÷देखाउन
एउटालाई सानो मानी अर्कोलाई ठुलो बनाउन
अर्कोलाई सानो मानी एउटालाई उठाउन
अकारणै झुटको खेती गर्दागर्दै
झुटलाई हराभरा बनाएर
त्यसैलाई भित्र्याउँछ मान्छे
त्यसैले मान्छे झुट सिक्छ
झुट सिकाउँछ ।
देश÷विश्वमा पनि
छल्न, ढाँट्न
बन्न र बनाउन
देशप्रेम देखाउँदा
मानवता देखाउँदा
शान्ति आदीत्यादि देखाउँदा
परीक्षाको प्रश्नको उत्तर दिँदा
धेरै झुट लेखियो÷बोलियो
आफूले आफैलाई
झुटको दलदलमा राखियो
त्यसैले त लाग्छ,
ममा सत्य कति छ ?
लाग्छ, आजभोलि सत्य
दुइटा कुरामा छ
पहिलो म जन्मेको सत्य हो
अन्तिम म मर्ने सत्य हो ।

Leave a Reply

Top