You are here
Home > साहित्य > प्रेमपत्रको अमूर्त पाना

प्रेमपत्रको अमूर्त पाना

-बाबुराम न्यौपाने ‘उत्स’

प्यारा !

उमेरको उत्तरार्धमा

जीवनका झरिला पातहरु ओइलिँदै गर्दा

हृदयको एकान्त कुनामा

जतनसाथ पट्याएर राखेका

खातका खात प्रेमपत्रबाट

तिम्रो एउटा प्रेमपत्र पढ्दै छु

अक्षर र शब्द शब्दमा

स्पन्दित छ मुटुको धड्कन

कलात्मक अक्षरमा उनिएर

मगमगाएका छन् प्रेमभावका पुष्पहार !

 

प्राणप्यारा !

नसाका शिरा शिरामा प्रवाहित भएर पनि

सहयात्री बन्ने सौभाग्य समयले लुट्यो

यता साथ भएर पनि

नीरस नीरस छ जीवन

प्यास छ, धीत मर्ने पानी छैन

अतृप्त तिर्खा ज्यूँ का त्यूँ छ

सागरको बिचमा प्यासी छ जीवन

आकाश बर्सिन्छ

तेजाब बर्सिन्छ कि निर्मल पानी

ल्याफ्फ भिज्छ शरीर

तर कहिल्यै ऊर्वर जमिनमा

अङ्कुरित भएन जीवनको मृदुवसन्त !

 

छट्पटिँदा छट्पटिँदै

अनेक रात ढले, अनेक प्रहर ढले

तिम्रा मायालु हातले फूल सिउरिदिने

चुल्ठो बाट्ने रहर ढल्दै छ प्यारा

तिमीले सुम्सुम्याउने केश

सेताम्य हिउँ बनेर लहराउँदै छन्

यौवनका प्यासहरु

मर्दै छन् भोकको चितामा जलेर

तिमी कहाँ छौ प्रिय ?

हामी टहलिने फूलको बागमा बसेर

एक्लै पढ्दै छु तिम्रो प्रेमपत्र

मेरो आँसुले भिजिरहेका छन्

शब्द शब्द, अक्षर अक्षर

तर आँसुले पोतेर पनि

मेटाउन सकेनन् पत्रका समर्पित भावनाहरु

आँसु पुछिदिने ती औंलाहरु

कहाँ हराए ? कहाँ बिलाए ?

 

जुनेली रातका रोमाञ्चित स्पर्शहरु

मेलापर्वका प्रेमिल कटाक्षहरु

किन मलाई उत्तेजित बनाएर

अझैसम्म पल पल डसिरहेका छन्

प्रिय !

एक्लै रुँदै छ तिम्री न्याउली चरी

तिमी यही प्रेमपत्रका

अक्षरबाट निस्क ।

 

कति धारिलो थियो

जात र धर्मको कुटिल तरबार

अनि धनी र गरिबबिच अहङ्कारी विभेद

मन टुक्रयाउन नसके पनि

शरीर अलग्याएरै छोड्यो

मन्दिर, मस्जिद, चर्च, चैत्यको पूजाकोठामा

पवित्र प्रेमका पुजारीलाई

कुन दुष्ट महापापीले गर्यो प्रवेश निषेध

कहाँ छौ प्यारा ?

म युग युग तिम्रै प्रतिक्षामा रहने छु … ।

दमक

 

 

Leave a Reply

Top