बहुप्रतिक्षित चलचित्र प्रकाश टोकियोमा अगष्ट २७ मा प्रदर्शन हुने मनोरञ्जन July 23, 2022August 2, 2022 टोकियो, जापान ।प्रदर्शन अगाडिनै चलचित्रको लगानी सुरक्षित गरिसकेको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘प्रकाश’ जापानमा अगष्ट २७ तारिख प्रदर्शन हुने भएको छ ।नेपालमा भदौ १० गते रिलिज हुने चलचित्र जापानको राजधानी टोकियोको नाकानोमा रहेको नाकानो जेरो हलमा भदौ ११ अर्थात् अगष्ट २७ मा प्रदर्शन हुने भएको हो । चलचित्र प्रकाश जापान सहित अष्ट्रेलिया, न्युजिल्यान्ड, ईण्डिया, अमेरिका, क्यानडा, मध्यपूर्वका आधा दर्जन देशहरु सहित युरोपका विभिन्न देशमा प्रदर्शन हुने तय भइसकेको छ । चलचित्र प्रकाशको फर्ष्ट लुक, पोस्टर र टिजर राम्रो रेस्पोन्स पाइरहँदा बिदेशमा समेत चलचित्र प्रतिको आकर्षण बढेको छ । चलचित्रको अधिकाशं दृश्य नेपालको जुम्ला जिल्लामा छायांकन गरिनुका साथै नेपाली मौलिक कथामा चलचित्र निर्माण भएको चलचित्र निर्माण पक्षले जनाएको छ ।चलचित्र प्रकाश नेपालसँगै आठ देशमा एकसाथ रिलिज हुन लागेको छ । दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्काको मुख्य भूमिका रहेको छ । चलचित्रमा दीया मास्के, रेणु योगी प्रकाश घिमिरे लगायत कलाकारलाई मुख्य भूमिकामा देख्न सकिन्छ । चलचित्र प्रकाश शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथामा समेटिएको छ । चलचित्रले मुख्य पात्रको माध्यमबाट बर्गिय विभेदको कुरालाई मौलिक रुपमा सजिव चित्रसहित उठाएको छ ।चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् भने राजेश श्रेष्ठको छायाँकन रहेको छ । चलचित्रमा जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेस श्रेष्ठको पाश्र्व संगीत समेटिएको छ । यस बर्षकै सर्वाधिक चर्चामा रहेको चलचित्रमा पर्ने कथानक चलचित्र प्रकाश टोकियोमा प्रदर्शन हुनेभएपछि जापानवासीहरुले चलचित्र प्रति चासोपूर्ण प्रतिक्रियाहरु दिएको पाईन्छ ।जापानमा चलचित्र प्रदर्शनको व्यवस्थापन गरिरहनुभएका खिमराज शाहका अनुसार टोकियोको नाकानोमा रहेको नाकानो जेरो हलमा अगष्ट २७ मा साँझ ६ बजे चलचित्र प्रदर्शन हुने छ । यसको लागि चलचित्रको टिकट बुकिगं खुल्ला गरिसकिएको छ ।जसमा चलचित्रको सामान्य तर्फ ३,००० जापानी येन र विशेष भिआईपी तर्फको टिकट मूल्य १ मान जापानी येन तोकिएको छ । अग्रिम टिकट बुकिगं धमाधम भइरहेको जनाउँदै शाहले टिकट लिन चाहनुहुने व्यक्तिहरुले तस्विरमा देखिएको फोन नम्वरहरु मध्ये कुनै एकमा फोन गरेर टिकट लिन सकिने जानकारी दिनुभयो ।